काठमाडौं । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवर्द्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी (एलएलजी) सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केसरी शाह र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौताका मुख्य विशेषता कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसअन्तर्गत सुरुमा यस जमानतले १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एड को सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ ।
फण्डले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ । यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उद्ेश्य लिएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्चपदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौतामार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षितवर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया