किन विवादमा तानियो ‘कथा काठमाडौं’ को गीत?

काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर फिल्म ‘कथा काठमाडौं’ को गीत रिलिज गरियो । औपचारिक कार्यक्रममा पत्रकार तथा फिल्मकर्मी पनि उपस्थित थिए ।

जब फिल्मको गीत सार्वजनिक गरियो, तब सबै चकित परे । किनकि, यसअघि चलचित्र ‘रोमियो एण्ड मुना’ को बिकिनी गीत सार्वजनिक हुँदा पनि गीतमा नकारात्मक प्रतिक्रिया आएको थियो । तर, यस्तो लेभलको थिएन ।

जुन गीत रिलिज गरियो, त्यो गीतमा प्रियंका कार्की र प्रमोद अग्रहरीाई निकै नै कामुक रुपमा प्रस्तुत गरिएको छ । फिल्मका केही दृश्य उत्तेजित छन् । युट्युबले भिडियो हेर्नभन्दा पहिले चेतावनी पनि दिन्छ ।

गीतको भिडियो युट्युबमा रिलिज भएसँगै कतिले त नेपाली फिल्म क्षेत्रमा विकृति भित्रिएको भनेर गाली गरेका छन् । युट्युबमा पनि गीतमा कतिपयले अश्लील रुपमा फिल्मलाई लिएका छन् । विषयवस्तु जस्तो भएपनि यसको प्रस्तुतिमा टिम चुकेको भन्दै आवाज उठाइएका छन् ।

‘रातको कुरा’ बोलको उक्त गीतमा प्रमोद र प्रियंकालाई एक क्लबमा उत्तेजक दृश्यका साथ देखाइएको छ ।

लेखक तथा निर्देशक संगीता श्रेष्ठले कलाकारलाई यस्तो दृश्य दिन गाह्रो नभएको बताइन् । उनले भनिन्, ‘यो दृश्य किन छ भन्ने कुरा भोलि फिल्म आएपछि थाहा पाउनुहुन्छ, उहाँहरुलाई गाह्रो भएको थिएन ।’, उनले भनिन् ।

तर, यता सामाजिक सञ्जाल र युट्युबमा पनि नकारात्मक प्रतिक्रियाको बाढी आएको छ । कतिले नेपाली समाज यतिसम्म खुला नभइसकेकाले फिल्ममा समेट्नु सही नभएको लेखेका छन् ।

यो गीतमा इन्दिरा जोशीले स्वर दिएकी छिन् । कार्यक्रममा प्रमोद अग्रहरी उपस्थित भएपनि प्रियंका कार्की भने अनुपस्थित थिइन् । गीतका एक कलाकार प्रमोद अग्रहरीले भने आफ्नो पात्रले भूमिका निभाएको बताए ।

त्यस्तै कार्यक्रममा सन्ध्या केसी, संजोग कोइराला लगायतका कलाकार उपस्थित थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?