काठमाडौं । एशियाली खेलकुद, यो च्याम्पियनसिप ‘एशियाड’ को नामले प्रसिद्ध छ ।
छिमेकी मुलुक भारतले सन् १९५१ मा पहिलो पटक आयोजना गर्दा नेपाल पनि सहभागि राष्ट्र मध्ये एक थियो ।
भारतको पहिलो राष्ट्रपति राजेन्द्र प्रसाद र प्रधानमन्त्री जवहारलाल नेहरुले प्रतियोगिताको उद्घाटन गर्दा विश्वभरि नै चर्चा चलेको थियो । कारण, एशियन गेम्स शुरु ।
त्यतिबेला राष्ट्रपति राजेन्द्र प्रसादले भनेका थिए ‘एशियाली खेलकुद सबै राष्ट्रहरुबीच सुमधुर सम्बन्ध र मित्रतालाई शुरु गर्नु हो ।’
पहिलो संस्करणदेखि १८ औँ संस्करणसम्म आइपुग्दा ‘एशियाड’ मा नेपालको सहभागिता नियमित छ । तर, नजिता भने खासै राम्रो छैन । के कारणले नेपाली खेलाडी एशियाली खेलकुदमा स्वर्ण पदक जित्न चुक्छन्, यो गम्भिर विषय बनेको छ ।
दक्षिण एशियाली खेलकुद ‘साग’ मा थुपै नेपाली खेलाडीहरुले स्वर्ण पदक जित्दै नयाँ रेकर्ड पनि बनाइसकेका छन् । जस्तो की, तेक्वान्दो खेलाडी (हाल राष्ट्रिय टिमका प्रशिक्षक) दिपक विष्टले ‘साग’मा लगातार ४ पटक स्वर्ण पदक जित्दै किर्तीमानी रेकर्ड कायम गरेका थिए ।
सफल खेलाडीको दर्जा पाइसकेका दिपकले दुई संस्करणको एशियाडमा सहभागिता जनाएका थिए । उनले सन् २००२ मा दक्षिण कोरियको बुसान एशियाड र २००६ दोहा एशियाडमा कास्य पदक मात्र जितेका थिए ।
त्यस्तै, तेक्वान्दो क्विन संगिना बैद्यले पनि सन् २००० मा सम्पन्न हङकङ एशियाडमा कास्य पदक नै जितेकी थिइन् ।
अहिलेसम्म तेक्वान्दोकी सविताराज भण्डारीले एशियाडमा जितेको रजत पदक नै नेपालले जितेको सबैभन्दा ठूलो पदक हो । उनले सन् १९९८ मा थाइल्याण्डमा सम्पन्न १३ औँ बैंकक एशियाडमा सो पदक जितेकी थिइन् ।
यि खेलाडी त एशियाली खेलकुदका केही पात्र मात्र हुन् ।
त्यसो त खेलमा लागेर केही गर्न सकिदैन् भन्ने खेलाडी यहाँ नभएको भने होइन् । केही खेलाडी देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मैदानमा खेलेर स्वदेश फर्कन्छन् भने कोही उतै पलायन हुन्छन् ।
यस्तैमा, सन् २०१४ को इन्चोन एशियाडको कास्य पदक विजेता कराँतेकी बिमला तामाङ भने अमेरिका पलायन भइसकिन् भने दिपक महर्जन अहिलेपनि खेलकुदमा नै सक्रिए छन् ।
यता, सन् २०१० को ग्वान्झाउमा भएको एशियाली खेलकुदमा बक्सिङका महर्जनले कास्य पदक जितेका थिए । नेपालले पछिल्लो एशियाडको दुई संस्करणमा १—१ कास्य पदक मात्र जितेको छ ।
६७ वर्षसम्मको लामो एशियाड यात्रामा नेपालले अहिलेसम्म १ रजत र २२ कास्य गरि २३ पदक मात्र जितेको छ ।
सन् २०१६ मा भारतमा सम्पन्न १२ औँ दक्षिण एशियाली खेलकुद ‘साग’ मा नेपालले अपेक्षाअनुसार नतिजा हासिल गर्न सकेन् । त्यतिबेला नेपालले मात्र तीन स्वर्ण पदक जित्यो ।
उसु खेलाडी निमा घर्तिमगरले नेपाललाई पहिलो स्वर्ण पदक दिलाउदा जुडोकी फुपुल्हामु खत्रीले दोस्रो स्वर्ण पदक नेपाललाई दिन सफल भइन् । त्यस्तै, पुरुष फुटबल टिमले अन्तिम स्वर्ण पदक दिलाए ।
हरेक ठूला मानिएका प्रतियोगितामा नेपालको खस्कदो खेल स्तरले भविष्यमा नेपाल पदकविहिन बन्न सक्छ भन्न नसक्ला, यसतर्फ नेपाल सरकार, युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिन जरुरी छ ।
पदक जित्ने आशामा खेलाडी
भदौको पहिलो साताबाट इन्डोनेसियाको जाकार्तामा शुरु हुने एशियाडका लागि अहिले जुडोकी फुपुल्हामु खत्री जापानमा छिन् ।
केही महिनादेखि उनले जापानमा प्रशिक्षण गरिरहेकी छिन् । यता उसुकी निमा घर्तिमगर दशरथ रंगशाला हाताभित्र अभ्यासरत छिन् । त्यस्तै, फुटबल टिम भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गरिरहेको छ।
यता कराँतेका खेलाडीहरु पोखरामा प्रशिक्षणरत छन् । राष्ट्रिय खेलकुद परिषद्ले दिएको दैनिक १४ सय रुपैयाँ भत्ताको भरमा उनीहरु पोखरामा अभ्यास गरिरहेका छन् ।
वैदेशिक प्रशिक्षणका लागि कतै पठाउने आश्वासन पाएका खेलाडी दिन बित्दै जाँदा कुनै प्रक्रिया अगाडि नबढेपछि स्थानिय मैदानमा नै अभ्यास गर्न बाध्य छन् । यता, अस्तित्वमा रहेका दुवै कराँते महासंघले आफूले प्रक्रिया थालनी गरिसकेको बताउँदै आए पनि ठोस कार्य कतैबाट नआएकाले कराँतेको वैदेशिक प्रशिक्षण अन्योलमा परेको हो ।
खेल शुरु हुनुभन्दा एक महिना अगाडिसम्म खेलाडीले उचित प्रशिक्षणस्थल नपाउँदा प्रदर्शनमा प्रत्यक्ष असर पर्दछ ।
नेपालमै रहेर प्रशिक्षण गरिरहेका धेरैजसो खेलको पूर्वाधारलाई लिएर धेरै गुनासो सुनिने गरेको छ । यस्तो अवस्थामा खेलकुद परिषदले छिमेकी मुलुकसँग प्रशिक्षण सहयोग माग गरेर संघलाई समन्वय गर्न लगाउनु उचित हुने सम्बन्धित खेलकर्मीहरू बताउँछन् ।
कम्तीमा पदक आशा गरिएका खेललाई अन्तिम चरणमा उचित प्रशिक्षण दिने हो भने इन्डोनेसियाबाट पदक जित्न सकिने सम्भावना छ ।
नेपालले १८ औँ एसियाली खेलकुदमा यसपल्ट २८ खेलमा सहभागिता जनाउँदैछ । नेपालले यति धेरै खेलमा पहिलो पटक भाग लिन लागेको हो ।
२८ खेलमा पुरुषतर्फ १ सय २५ र महिलामा ५६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अहिले ६ खेलका खेलाडी वैदेशिक प्रशिक्षणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया