काठमाडौं। फुटबल, विश्वकै चर्चित खेल ।
नेपालले अन्तर्राष्ट्रिय स्तरमा खेल्न थालेको पाँच दशक नाघिसक्यो । तर, नतिजा भने जहिल्यै ‘हात लाग्यो शुन्य’ ।
अरु खेलको तुलनामा फुटबलमा लगानी पनि धेरै छ तर नतिजा भने किन जहिल्यै खराब ?
कम लगानी र उही सेवा सुविधाका बाबजुत नेपाली क्रिकेटले सफलता हात पार्दै गर्दा फुटबल खेलको स्तर किन खस्कदो छ । यो प्रश्न खेलकुदका उच्च निकायलाई छ ।
खेलाडीहरुको एउटै गुनासो छ, खेलाडीलाई ट्रेनिङ मात्र दिन्छ, खेल्ने अवसर दिँदैन । अरु राष्ट्रका खेलाडीसरह सेवा सुविधा दिन नसके पनि अन्तर्राष्ट्रिय स्तरमा खेल्ने वातारवण मिलाइ दिनु पर्यो । हामीकहाँ प्रतिभावान र क्षमतावान खेलाडी नभएका हैनन् तर, उनीहरुलाई ट्रयाकमा ल्याउन नसकेको चाहिँ पक्कै हो ।
रसिया विश्वकपका दौरान फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेको अहिले ब्रह्माण्डमा नै चर्चा परिचर्चा चलिरहेको छ । कारण, उनी एक सफल खेलाडीको दौडमा रहेका छन् । उनले खेल्ने कला कौशलप्रति सबै समर्थक मन्त्रमुग्ध छन् ।
नेपाली टिममा पनि बिमल घर्ती मगर, अनन्त तामाङ लगायतका केही खेलाडीहरु ‘मौका पाए चौका’ हान्न पछि नहट्ने प्रतिभावान खेलाडीहरु हुन् ।
सन् १९७२ मा चीनको बेजिङबाट पहिलो अन्तराष्ट्रिय खेल खेल्न थालेको नेपाली टिम दक्षिण एशियाली खेलकुदबाट माथि उठ्न सकेको छैन । त्यतिबेला नेपाल चीनसँग ६—२ गोलको भारी अन्तरले पराजित भएको थियो ।
खेलमा हार जित हुनु नौलो कुरा होइन । तर, हारबाट पाठ सिक्दै खेल स्तरलाई माथि उकास्नु चाहिँ महत्वपूर्ण हो ।
नेपालले सन् १९९९ मा सम्पन्न आठौँ साफ च्याम्पियनसिपमा भुटानलाई पराजित गरेको सबैभन्दा ठूलो गोल स्कोर हो । त्यतिबेला नेपालले भुटानलाई ७—० को विशाल गोलले पराजित गरेको थियो । त्यस्तै, सन् २००३ मा एशियन कपको छनोट खेलमा दक्षिण कोरियासँग नेपाल १६—० ले पराजित भएको थियो ।
यो नै नेपालले व्यहोरेको सबैभन्दा ठूलो हार हो ।
यसैबीच, अहिले नेपालको यू—२३ राष्ट्रिय टिम इन्डोनेशियामा हुने १३ औँ एशियाली खेलकुद र भदौमा बंगलादेशमा हुने ‘साफ’ च्याम्पियनसिपको लागि तयारी गरिरहेका छन् । खेलाडीहरुलाई जापानी प्रशिक्षक ग्यातुकी कोजीले प्रशिक्षण दिइरहेका छन् ।
प्रशिक्षक कोजीले एशियन गेम्स साफ च्याम्पियनसिपको तयारीका रुपमा हेरेको बताएका छन् । साथै, कोजीले ‘साफ’ च्याम्पियनसिपलाई पहिलो प्राथमिकतामा राखेको पनि जानकारी दिए । ‘हाम्रो लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्ने हो ।
आउँदो एशियन गेम, टिमको लागि तयारी जस्तै हो । दुवै च्याम्पियनसिपमा राम्रो प्रर्दशन गर्ने हाम्रो टार्गेट छ ।’ उनले भने ।
साथै, उनले नेपाली टिमलाई तत्कालको लागि वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय अभ्यासको खेलको खाँचो भएको समेत जानकारी दिए । ‘अहिले मैले सबै खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण दिई राखेको छु । सबै खेलाडी फिट नै छन्, भरत खवास मात्र अनफिट छन्, सायद भरत साफ च्याम्पियनसिपसम्ममा फिट पनि भइसक्नेछन् ।’ उनले लोकपथलाई भने ।
प्रशिक्षक कोजीले पहिलो पटक यू—२३ का खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । यो प्रशिक्षणबाट नयाँ खेलाडी खोज्न थप सहज हुने पनि बताए । ‘नयाँ युवा खेलाडीलाई प्रशिक्षण गराउन अलि गाह्रो भएको छ, सबै खेलाडीलाई मिलाएर प्रशिक्षण दिइरहेको छु।’ उनले भने ।
यू—२३ टोलीमा ३ सिनियर टोलीका खेलाडीहरुलाई स्थान दिने प्रावधान छ, जसमध्ये कोजीको रोजाइमा परेका स्ट्राइकर भरत खवासले चोटका कारण प्रतियोगिता गुमाएका छन ।
विविध समस्याका बाबजुत पनि नेपाली खेलाडीहरुले मेहनत गर्न कुनै कसर बाँकी राखेका छैनन् । नेपाली क्रिकेटले हासिल गरेको सफलताको उचाईसम्म फुटबल पनि एक दिन अवश्य पुग्छ भन्ने कुरामा कुनै दुई मत नहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया