काठमाडौं । एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतीपत्र प्राप्त सबै संस्थाहरुको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
परिपत्रमा भनिएको छ, अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्यरुपमा प्रयोजन खुलाउनु पर्ने व्यवस्था गर्नुपर्ने छ । विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेश गरेको विवरण ठिक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुन बमोजिम सहुँला, बुझाउँला भन्ने व्यहोराको विद्युतीयरुपमा स्वः घोषणा गर्न लगाउनुपर्ने छ ।
सोही परिपत्रमार्फत राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागु गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन–२०७८ मा संसोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो ।
सामान्यतया: क्रेडिट कार्डबाट नगद कारोबार गर्न पाइनेछैन । तर अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन । साथै क्रेडिट कार्डमार्फत वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्था सम्वन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ, परिपत्र मार्फत राष्ट्र बैंकले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया