अन्तिम अभ्यास खेलमा नेपाल विजयी

इंग्ल्याण्ड । युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अन्तिम अभ्यास खेलमा जित हात पारेको छ । 

नेपाली टिमले अन्तिम अभ्यास खेलमा इंग्ल्याण्डको इष्ट लण्डन सार्कस्लाई १ सय ३४ रनले पराजित गरेको हो । 

योसँगै युरोप भ्रमणमा रहेको नेपाली टोलीले खेलेका ४ अभ्यास खेल मध्ये तीनमा जित र एकमा हार व्यहोरेको छ । नेपालले दुई एकदिवशीय र दुर्इ टी—ट्वान्टी खेलेको थियो । 

नेपालले दिएको २ सय ५२ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा सार्कस् निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय १७ रनमा समेटिएको थियो । 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिन सफल भए । ३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै २ रन खर्चिएर ३ विकेट लिए ।

त्यस्तै, ललितनारायण राजबंशीले २ विकेट लिए । यता, करन केसी, दीपेन्द्रसिंह ऐरी र सरद भेषावकरले समान एक—एक विकेट लिएका थिए ।

पहिलो व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय ५१ रनको योगफल तयार पारेको थियो ।  नेपालका लागि  कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धसतकीय पारी खेलेका थिए ।  

ओपनर व्याट्सम्यान ज्ञानेन्द्र मल्लले ७५ रनको पारि खेले । ज्ञानेन्द्रले ४७ बलमा  ६ छक्का र ५ चौका प्रहार गरे । 
३० बल खेलेका कप्तान पारस खड्काले ६७ रन बनाए । यता २६ बल खेलेका दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । विस्फोटक व्याटिङ गरेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।

रोहित कुमार पौडेल १२ रन बनाउँदा आरिफ सेख २ रनमा आउट भए । इष्ट लण्डनका सलिम अकबरले २ तथा अर्सद हारुन र बिलाल बटले समान एक—एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?