काठमाडौं । हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनले परमादेश जारी गरेको छ । बैंकको लाभांश रोक्न राष्ट्र बैंकले दिएको निर्देशनविरुद्ध लाभांश वितरण नरोक्नु भनेर पाटन उच्च अदालतले परमादेश जारी गरेको हो । पाटन उच्च अदालतको परमादेशसँगै हिमालयन बैंकलाई लाभांश वितरण गर्न बाटो खुलेको छ ।
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडिएपपछि राष्ट्र बैंकले बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो । राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकका सेयरधनीको लाभांशमा रोक नलगाए पनि हिमालयन बैंकलाई लाभांश वितरणमा रोक लगाएको थियो ।
एउटै मर्जर प्रक्रियामा रहेका दुई बैंकमध्ये एउटाको मात्र लाभांश रोकेर अन्याय गरेको भन्दै हिमालयन बैंकका सेयरधनीले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । सोही मुद्दा उपर परमादेश जारी गर्दै लाभांश रोक्ने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अदालतले परमादेश जारी गरेको हो ।
हिमालयन बैंकले गत वर्षको नाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया