राष्ट्रसंघीय प्रमुखद्वारा मालिमा शान्ति स्थापना गर्न आग्रह

अमेरिका। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान गरेका छन् । 

गुटेर्रेसले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताए । 

तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उहाँले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । 

मुलुकलाई ‘शान्तिपूर्ण मार्ग’ मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिए । उनले ‘निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव’का रुपमा लिन सुझाव दिएका छन् ।  

निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उनले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गरे ।

कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिएका छन्। 

आइतबार हुन लागेको निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?