त्रिविमा नयाँ सफ्टवेयर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउँदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । 

त्रिवि अन्तर्गतका ३० वटा निकायहरुमा उक्त सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ । 
सफ्टवेयर सञ्चालन कार्यक्रमलाई सम्वोधन गर्दै त्रि.वि.का रजिस्टार डिल्लीराम उप्रेतीले आन्तरिक लेखा परिक्षण कार्यलाई समयमै सम्पन्न गरी समयमै महालेखा परिक्षण गराई वेरुजु घटाउन सम्पूर्ण मातहतका निकायहरुलाई निर्देशन दिएका थिए ।

आर्थिक अनुसाशन र पारदर्शितामा कुनै पनि वहानावाजी नचल्ने भन्दै उनले समयमै आन्तिरक एवं वाह्य लेखापरिक्षण हुन नसक्ने निकायको बजेट निकासा रोक्ने चेतावनी समेत दिएका थिए । 

कार्यक्रममा नायव महालेखा परिक्षक विवेकानन्द घिमिरेले त्रिविमा हुने गरेको वेरुजुका किसिम र वेरुजु नियन्त्रणका उपायका बारेमा उपस्थित लेखामा कार्यरत कर्मचारीहरुलाई जानकारी गराएका थिए ।

त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सवैलाई अनुरोध गर्दै त्रिवि जस्ता उच्च शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरमा रही काम गर्न समेत सजग गराएका थिए । 
कार्यक्रममा लेखापरिक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्र बहादुर श्रेष्ठले त्रिवि हुने वेरुजुको प्रकृति र वेरुजु नियन्त्रणमा भइरहेको प्रयासहरुका वारेमा जानकारी गराउँदै लामो समयदेखि प्रयत्न गरिएको सफ््टवेयर सञ्चालनमा त्रिविमा हुने गरेको वेरुजुको अवस्थामा अत्यधिक सुधार हुने अपेक्षा गरे । 

कार्यक्रममा आर्थिक प्रशासन महाशाखाका प्रमुख कुमार प्रसाद हुमागाईले आर्थिक कार्यविधिको पालना कडाईसाथ लागु गरी त्रिविलाई आर्थिकरुपमा अनुशासित संस्थाको रुपमा अघि बढाउन सम्पूर्ण कर्मचारहरुमा अनुरोध गरेका थिए ।

प्रविधिको प्रयोगद्धारा संस्थालाई पारदर्शी एवं जिम्मेवार बनाउन सकिने भन्दै त्रिवि सूचना केन्द्रका प्रमुख दीपकबहादुर शाहीले सफ्टवेयर सञ्चालनमा सूचना केन्द्रको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा लेखापरिक्षण महाशाखाका सह–आर्थिक नियन्त्रक नारायणबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उपआर्थिक नियन्त्रक रुपा श्रेष्ठले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?