त्रिशूली जलविद्युत् केन्द्र पूर्णरुपमा सञ्चालन

नुवाकोट : आगलागीको कारण उत्पादन रोकिएको यहाँको त्रिशूली जलविद्युत् केन्द्रले पूर्णरुपमा विद्युत् उत्पादन गर्न थालेको छ । 

गत असार २६ गते आगलागी भएपछि पूर्णरुपमा विद्युत् उत्पादन गर्न नसकेको केन्द्रले आइतबारबाट पूर्णरुपमा उत्पादन गर्न थालेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिए। 

नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्दको विद्युत् गृहको जेनेरेसनतर्फको ६।६ केभी साइट बे्रकरमा असार २६ गते दिउँसो आगलागी भएको थियो । आगलागी भएपछि विदुर नगरपालिकासहित जिल्लाको अधिकांश भागमा लगातार ३० घण्टा विद्युत् अवरुद्ध भएको थियो । 

तीन ब्रेकरमा आगो लागेर क्षति भएपछि अहिले दुई वटा ब्रेकर ल्याएर उत्पादन थालिएको केन्द्र प्रमुख भट्टले बताए। “अब पूर्णरुपमा सञ्चालनमा आएको छ । हामीले नेपाल विद्युत् प्राधिकरणकै अर्को शाखाबाट दुई वटा ब्रेकर ल्याएर जडान गरी उत्पादन थालेका छौँ । साविककै अनुसार उत्पादन भइरहेको छ । अहिले दुई वटा ब्रेकरबाट नै काम सञ्चालन भइरहेको छ” केन्द्र प्रमुख भट्टले भने। 

आगलागीपछि एक हप्तासम्म त्रिशूली जलविद्युत् र सोही केन्द्रबाट पानी गएपछि सञ्चालन हुने देवीघाट जलविद्युत् केन्द्रको समेत उत्पादन भएको थियो । आगलागीको कारण करीब रु एक करोडको क्षति भए पनि विद्युत् उत्पादन बन्द हुँदा भने करोडौँको क्षति भएको केन्द्रले जनाएको छ । 

विद्युत् उत्पादन बन्द हुँदा कति नोक्सानी भयो भनेर मूल्यांकन गर्न बाँकी रहेको केन्द्र प्रमुख भट्टले बताए । त्रिशूली जलविद्युत् केन्द्रसहित देवीघाटसमेत बन्द भएको हुँदा करोडौँको विद्युत् उत्पादन नोक्सानी भएको उनले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?