काठमाडौं । नेपाली क्रिकेट, दुई दशक नाघिसक्यो अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको । तर, नतिजा भने खासै सन्तोषजनक छैन ।
अन्तर्राष्ट्रिय खेल खेलेको २२ वर्षपछि नेपालले पहिलो पटक एक दिवसीय क्रिकेट सिरिज खेल्दैछ । यसका लागि अहिले नेपाली खेलाडीसहितको टोली इंग्ल्याण्डमा छन् ।
नेपाली खेलकुदमा सबैभन्दा बढी लगानी फुटबलमा छ । यद्यपी कम लगानीका बाबजुत पनि क्रिकेटले फुटबल भन्दा राम्रो गरिरहेको छ । कम लगानी, आन्तरिक क्रिकेट संघ ‘क्यान’ भित्रको विवाद र कम श्रोत साधनका बाबजुत पनि क्रिकेटले ‘ओडिआई’को मान्यता पाइसकेको छ ।
नेपाल सरकारले पहिले क्रिकेटमा गरेको लगानीको कुरा गर्ने हो भने निक्कै कम थियो । तर, क्रिकेट खेलले ल्याएको नतिजा र सफलतालाई मध्यनजरमा राख्दै लगानी बढाएको थियो ।
अहिले नेपाली टिम इंग्ल्याण्डमा त्रिकोणात्मक टि—२० क्रिकेट सिरिज सकेर एक दिवसीय खेल्न नेदरल्याण्ड्स जाँदैछ ।
नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तयारीलाई निक्कै मजबुत बनाएका छन् ।
यसअघि जिम्वावेमा गत मार्चमा सम्पन्न आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल उत्कृष्ट तीनमा पर्दै पहिलो पटक ‘ओडिआई’को मान्यता पाउन सफल भएको थियो । छनोटमा सहभागी १० टिममध्ये नेपाल आठौं हुँदै एसोसिएटतर्फ उत्कृष्ट तीनमा पर्दै इतिहासमा नै पहिलो पटक एकदिवसीयको मान्यता पाएको थियो ।
नेपालले पाएको यो मान्यता आगामी चार वर्षसम्म लागु हुनेछ । नेपालले बुधबार र बिहीबार नेदरल्याण्ड्सविरुद्ध दुई एक दिवसीय खेल खेल्दैछ ।
पहिलो पटक एक दिवसीय खेल्न लागेको नेपाली टिम जित्ने रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक जगत टमाटाले लोकपथलाई जानकारी दिए ।
‘नेदरल्याण्ड्सविरुद्धको यो खेल नयाँ होइन, नेपालले यसअघि पनि नेदरल्याण्ड्विरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गरिसकेको छ । अरु देशमा भएको विभिन्न प्रतियोगितामा पनि नेपालले नेदरल्याण्ड्ससँग खेलको अनुभव लिइसकेको छ । खेलमा हार जित त भइहाल्छ ।’ उनले भने ।
यता, नेपाली टिमका कप्तान पारस खड्काले ‘ओडिआई’ मा नतिजा सकारात्मक आउनेमा ढुक्क रहेको बताए ।
‘पहिलेको तुलनामा भन्दा अहिले हाम्रो तयारीमा निक्कै सुधार आएको छ । हामीले यही खेलको लागि भनेर निक्कै कडा अभ्यास र मेहनत पनि गरिरहेका छौँ, सबै खेलाडीहरु फिट छन्, नतिजा राम्रै आउनेमा आशावादी छु ।’ उनले लोकपथलाई भने ।
तस्वीर : रमन शिवाकोटी
यसअघि जिम्वावेमा नै भएको सातौँ स्थानको प्लेअफमा नेपालले नेदरल्याण्ड्ससँग पछिल्लो पटक भिडेका थिए । त्यो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो । नेपाल र नेदरल्याण्ड्स साँढे दुई महिनाको अन्तरालपछि आमने—सामने हुँदैछ ।
नेपालले सन् १९९६ बाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको हो । भने, यसअघि नै टी-२० विश्वकप क्रिकेट पनि खेलिसकेको छ । सन् २००५ बाट आइसिसि वल्र्ड क्रिकेट लिग डिभिजन ‘फाइब’ खेलेको नेपालले सन् २०१५ देखि १७ सम्म वल्र्ड क्रिकेट लिग खेलेको थियो ।
आउँदो मंगलबार र बिहीबार नेदरल्याण्ड्सविरुद्ध पहिलो एक दिवसीय तथा भदौको दोस्रो सातामा अर्को एक दिवसीय खेल्ने कार्यक्रम रहेको छ ।
यता एशिया कपको छनोट अन्तर्गत नेपालले अर्को एक दिवसीय मान्यता प्राप्त संयुक्त अरब इमिरेट्स ‘युएई’सँग खेल्नेछ । एशिया कपको छनोट खेलमा नेपाल र युएईसँगै अन्य टिमले एसिया कपको लागि प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो एकदिवसीय मान्यता पाएसँगै १५ खेलाडीले पहिलो पटक ‘ओडिआई’ खेल खेल्दैछन् ।
पहिलो एक दिवसीय खेल खेल्ने खेलाडीहरुमा झण्डै तीनवर्षसम्म राष्ट्रिय टिमबाट बाहिर रहेका ओपनर ब्याट्सम्यान सुवास खकुरेल रहेका छन् । खकुरेलले टी-२० इन्टरनेशनलमा पहिलो अर्धशतक प्रहार गरेका थिए ।
सन् २०१५ मा पपुवा न्युगिनीविरुद्धको आइसिसि विश्व क्रिकेट लिग डिभिजन पछि पहिलो पटक राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । पारस खड्काको कप्तानीमा घोषणा भएको १५ मध्ये १४ खेलाडी जिम्वावेमा भएको छनोट खेलेका खेलाडीहरु रहेका छन् ।
इतिहास रच्ने दाउमा रहेको नेपाली खेलाडीले पहिलो एक दिवसीय खेलमा कस्तो प्रर्दशन गर्ला, नेपाली दर्शकलाई पुनः निराश तुल्याउला जस्ता चर्चा नेपाली खेलकुदमा अहिले चलिरहेको छ । यस्तैमा, नेपालले पहिलो त्रिकोणात्मक खेलमा नेदरल्याण्ड्ससँग संयुक्त उपाधि बाँडेका छन् ।
पहिलो खेलमा मेरिलेबोन क्रिकेट क्लब ‘एमसीसी’लाई ९ विकेट हराएको नेपालले आगामी खेलमा कस्तो प्रर्दशन गर्नेछ, त्यो भने हेर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया