काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मल लिलामीमा बिक्री हुने भएको छ । मल निर्माणका लागि लिइएको ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलामी बिक्री गर्न लागेको हो ।
उक्त मलमा घरजग्गा व्यवसायी इच्छाराज तामाङको ५० प्रतिशत सेयर रहेको छ । तामाङ हाल ठगी आरोपमा हिरासतमा रहेका छन् ।
कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो । कोषले सोमबार एक सूचना जारी गर्दै ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको हो ।
कर्जा चुक्ता गर्न दिएको समय सीमा सकिँदा समेत सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो । कोषले गत मङ्सिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न मललाई ताकेता गरेको थियो ।
मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रवीण मुखिया रहेका छन् भने कोषको ऋण लिँदा व्यक्तिगत जमानीका रूपमा लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रवीण प्रसाद प्रधान र सुमन नन्दन वैद्य बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया