एजेन्सी : अमेरिकासम्म मार हान्न सक्ने नयाँ क्षेप्यास्त्रहरूको निर्माण उत्तर कोरियाले गरिरहेको अमेरिकी गुप्तचर नियोगहरूले बताएका छन् ।
गुप्तचर नियोगहरूले स्याटेलाइटबाट लिएको नयाँ फोटोमा उत्तर कोरियाले नयाँ क्षेप्यास्त्रहरू बनाइरहेको संकेत फेला परेको दाबी गरिएको छ ।
राजधानी पोङयाङबाट बाहिर रहेको सनुमदोंगमा सम्भवतः दुई नभए कम्तीमा एक ठाउँमा नयाँ क्षेप्यास्त्र बनाइन काम भइरहेको संकेत देखिएको जनाइएको छ ।
परमाणु गतिविधि समाप्त पार्ने विषयमा अमेरिकासँग वार्ता प्रक्रियामा आबद्ध उत्तर कोरियाले क्षेप्यास्त्र बनाइरहेको देखिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा उत्तर कोरियाबाट कुनै परमाणु खतरा नभएको उल्लेख गरिपछि यो सूचना सार्वजनि भएको हो ।
गत साता अमेरिकी सिनेटमा यसबारे जानकारी माग्दा अमेरिकी विदेशमन्त्री माइक पोम्पोओले उत्तर कोरियाले नयाँ क्षेप्यास्त्र बनाइरहेको विषयमा कुनै टिप्पणी गर्न इन्कार गरेका थिए ।
सनुमदोंगको कारखानाले अमेरिकाको पूर्वी किनारसम्म मारहान्न सक्ने दुई शक्तिशाली क्षेप्यास्त्र ह्वासोंग –१५को निर्माण समेत गरेको छ । त्यही ठाउँमा यससम्बन्धी नयाँ काम भइरहेको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया