बर्दिवास । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ ।
खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दुध किन्नेको भिडभाड रहेको छ ।
पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दुध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराई बताउछन् । आज अन्य दिनको तुलनामा दुधको माग पाँच गुणाले बढेको उनको भनाइ छ ।
यस्तै बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादव अरु दिन २०० लिटर दुध खपत हुँदै आएकामा आज एक हजार लिटर दूधको माग आएको बताउँछन् ।
जिल्लाको बर्दिवास नगरक्षेत्रका बर्दिवास चोकमात्र नभएर खयरमारा, चौलिखा, बेङ्खाडी, डाँडाटोल, हनुमानचोक, माइस्थान र पथलैयासहितका बजारमा आज बिहानैदेखि दूधको बिक्री वितरण बढेको छ ।
गौशाला नगरपालिकाको रजखोर, रामनगर, कान्तिबजार, गौशालाबजार, इमलीबजार, बेलगाछी तथा भङ्गाहा नगरपालिकाको सीतापुर र रामनगर बजारमा समेत ग्राहकको चहलपहल निकै बढेको पाइएको छ ।
साउने १५ पर्वमा विवाहित चेलीबेटीलाई माइत बोलाउने चलन छ । मौसमअनुकूल रहँदा साउन १५ सम्म धान रोपाइँ सकिने भएकाले यस पर्वमा पानीमा भिजेर काम गर्दा हुने चिसो र हिलोबाट पर्ने असर हटाउन खिर खाने चलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया