काठमाडौं । आगामी अक्टोबर पहिलो सातामा आधिआबादी महिला भलिबल लिग च्याम्पियनसिप हुने भएको छ ।
अक्टोबर १ देखि ६ तारिखसम्म हुने यो प्रतियोगितामा ६ महिला टिमको सहभागिता रहने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
प्रतियोगितामा तीन विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, काठमाडौं क्विन्स, चितवन टाइगे्रस र पोखरा पिन्केज क्लब सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
‘विभागीय टिम बाहेक अन्य टिमहरुको खेलाडी र प्रशिक्षकका लागि लगानी गर्ने स्पोन्सरको खोजी भइरहेको छ । यदि राम्रो स्पोन्सर पाए ३ वटा टिमलाई सशक्त रुपमा निर्माण गर्ने योजनामा रहेको छु ।’ उनले लोकपथलाई भने ।
नेपाल भलिबल संघ र आधिआबादी फाउन्डेशनले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा ४ विदेशी खेलाडीलाई टिममा राख्दै ३ खेलाडीलाई खेलाउन पाइने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो र तेस्रो हुने क्लबले क्रमशः ३ लाख र १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
भलिबल खेलमा नै सर्वाधिक धेरै रकम राशी रहेको यो प्रतियोगिताको बेस्ट प्लेयरले एक थान स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भलिबल संघ र आधिआबादीबीच सम्झौता
वि.स २०७४ साल जेठ ८ गतेबाट भलिबललाई राष्ट्रिय खेल घोषित गरेपनि नेपाल सरकारले खेल विकासका लागि अहिलेसम्म बजेट व्यवस्थापन गर्न सकेको छैन ।
भलिबल खेलको स्तर माथि उकास्न सरकारबाट कुनै सहयोग नभएको प्रति नेपाल भलिबल संघले गुनासो पोखेको छ ।
यसैबीच महिला भलिबलका लागि आधिआबादी फाउन्डेशनले प्रतियोगिता सञ्चालनका लागि हरेक वर्ष १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । भलिबल संघ र आधिआबादीले १० वर्षसम्मका लागि सम्झौता गरेका हुन् ।
साथै, आधिआबादीले प्रतियोगिताका दौरान चाहिने सम्पूर्ण खर्च पनि व्यहोर्ने भएको छ ।
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र आधिआबादी फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत यशकुमार सिंहबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
आधिआबादी फाउन्डेशनले नेपाल भलिबल संघलाई रेफ्रि स्टेन्ड, पोल कभर र म्याट पनि उपलब्ध गराउने बताइएको छ ।
‘गुडविल एम्बास्डर’का रुपमा भारतीय सिनेकर्मी पुजा गौर, रिशिका सिंह, प्राची तेलन, लबिना टन्डन, सोनिया शर्मा र रितु दुधानी पनि प्रतियोगितामा सहभागी हुन आउने नेपाल भलिबल संघले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया