खेलकुद मन्त्रीद्वारा पूर्वाधारको निरीक्षण

काठमाडौं ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ‘विश्वकर्मा’ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’लाई लक्षित गरी निर्माण र मर्मत भइरहेका भौतिक पूर्वाधारको निरीक्षण गरेका छन् ।

खेलकुद मन्त्री विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोस्थित कराते हल, पौडी पोखरी, कन्फ्रेन्स हल, सुटिङ रेन्ज र च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरेका हुन् ।

निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का सदस्य–सचिव केशवकुमार विष्ट, राखेप अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय र सम्बन्धित निर्माण कार्यमा खटिएका इन्जिनियरले कार्य प्रगतिका बारेमा खेलकुद मन्त्री विश्वकर्मालाई जानकारी गराएका थिए ।

सो अवसरमा खेलकुद मन्त्री विश्वकर्माले विगतमा पनि निर्माण कार्यको प्रगति बारे जानकारी लिदै आएको र हालको कामको प्रगति आशा लाग्दो हिसाबले अगाडि बढेको बताउँदै १३ औं साग सारा नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा र गौरवसँग जोडिएको विषय भएकोले चलि रहेको निर्माण कार्यलाई अझ तीव्र गतिमा बढाएर समयमै सम्पन्न गर्ने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?