सिरिज बराबरी गर्ने नेपाली टिमको लक्ष्य

काठमाडौं । दोस्रो ‘ओडीआई’ क्रिकेटमा शुक्रबार नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । 

यि दुई टिमबीचको खेल नेपाल समयअनुसार शुक्रबार दिउसो पौने ३ बजेपछि शुरु हुँदैछ । दोस्रो ‘ओडीआई’ क्रिकेट आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुँदैछ ।

यस अघि बुधबार भएको पहिलो एक दिवसीय क्रिकेटमा ५५ रनले पराजय भोगेको नेपालसामु शुक्रबारको खेल जित्नै पर्ने दबाव छ ।

नेदरल्याण्ड्सविरुद्धको पहिलो ‘ओडीआई’ मा खासै राम्रो शुरुवात गर्न नसकेको नेपालले दोस्रो खेलमा जित हात पार्ने रणनीतिका साथ मैदानमा उत्रने प्रशिक्षक जगत टमाटाले बताएका छन् । त्यस्तै, अलराउण्डर शरद भेषवाकर औलाको चोटका कारण शुक्रबार हुने खेलमा अनुपस्थित हुनेछन् ।

शरदको अभाब भने टिममा खड्किने देखिएको छ । नेदरल्याण्ड्सका चार खेलाडीलाई आउट गरेका कप्तान पारसले बलिङमा राम्रो प्रदर्शन गरेका थिए । तर, ब्याटिङमा आफ्नो क्षमता अनुरुप प्रदर्शन गर्न नसकेपनि दोस्रो खेलमा राम्रो प्रदर्शन गर्न सक्ने बताइएको छ । 

पहिलो ‘ओडीआई’मा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स १ सय ८९ रनमा अलआउट भएको थियो ।

तर, जवाफी मैदानमा ब्याटिङमा उत्रेको नेपाल मात्र १ सय ३४ रनमा अलआउट भयो ।

पहिलो खेलमा प्रभावशाली बलिङ गरेको नेपालले दोस्रो ‘ओडीआई’मा बलिङ र ब्याटिङ दुवै लाइनलाई ध्यानमा राख्दै प्रर्दशन गर्ने बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?