कञ्चनपुरमा फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट

कञ्चनपुर : भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो ।

गत वर्ष भीनपा र केन्द्रबीच कुहिने फोहरबाट ऊर्जा उत्पादनका लागि सम्झौता भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेकोे क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत पदमराज जोशीले बताए।

नगरपालिका र वैकल्पिक ऊर्जा केन्द्रबीच गरिएको संझौता बमोजिम केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको हो । स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने उनले बताए ।

नगरपालिकामा बढ्दो जनसंख्या चापको अनुपातमा उत्पादन हुने फोहरबाट आउने चुनौती सम्बोधनका लागि ऊर्जा उत्पादन उपयुक्त विकल्प हुने बताइएको छ । भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारसहित विभिन्न स्थानबाट दैनिक पाँच टन फोहर निस्कने गरेको छ ।

यसमा ४० प्रतिशत कुहिने फोहर निस्कने गरेको छ । कुहिने फोहरमा भान्छाको फोहर, सब्जीमण्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रालगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?