भारत । भारतीय टिमका कप्तान विराट कोहली एक दिवसीय र टेस्ट क्रिकेट खेलाडीको वरियतामा शिर्ष स्थानमा उक्लेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आएसीसी’ले जारी गरेको नयाँ वरियतामा कप्तान कोहली टेस्ट क्रिकेटको वरियतामा पहिलो स्थानमा उक्लिएको हो । टेस्ट क्रिकेटमा एकछत्र राज गरेका अस्ट्रेलियन कप्तान स्टेफन स्मिथ बल टेम्परिङ काण्डमा मुछिएर एक वर्ष लागि प्रतिबन्धमा परेपछि कोहलीले यो सफलता हात पारेको हो ।
स्मिथलाई ५ अंकले उछिन्दै कोहली शीर्ष स्थानमा उक्लिएका हुन् । उनले ९ सय ३४ अंक जोड्दा स्मिथले ९ सय २९ अंक जोडेका छन् । इंग्ल्याण्डका जोय रुट ‘आईसीसी’ले जारी गरेको टेस्ट वरियताको तेस्रो नम्बरमा छन् । त्यस्तै, चौथो नम्बरमा न्यूजिल्याण्डका केन विलियम्सन तथा पाँचौ नम्बरमा अष्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।
यता, टेस्ट क्रिकेटतर्फ बलिङमा इंग्ल्याण्डका जेम्स एन्डरसन २ अंकले शीर्ष स्थानमा रहेका छन् । एन्डरसनको ८ सय ८४ अंक बनाएका छन् भने दक्षिण अफ्रिकाका कागिसो रावडाले ८ सय ८२ अंक जोड्दै दोस्रो स्थान हात पारे । भारतका रविन्द्र जडेजा तेस्रो स्थानमा छन् भने दक्षिण अफ्रिकाका फिरोन भिलेन्डोर चौथो तथा भारतका रविचन्द्रन आश्विन पाचौं स्थानमा छन् ।
बंगलादेशका शकिबअल हसन टेस्ट क्रिकेटतर्फ अलराउण्डरमा शीर्ष स्थानमा छन् । यता, भारतका रविन्द्र जडेजा दोस्रो स्थानमा छन् ।
पाकिस्तानका बाबर आजाम एकदिवसीय क्रिकेटमा दोस्रो स्थानमा छन् भने इंग्ल्याण्डका जोय रुट तेस्रो स्थानमा छन् । बलरतर्फ भारतका जसप्रित बुम्राह पहिलो स्थानमा छन् ।
अष्ट्रेलियाका एरोन फिन्च टी—२० तर्फ व्याटिङमा पहिलो स्थानमा छन् । बलिङमा अफगानिस्तानका रासिद खान र अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया