काठमाडौं । नेदरल्याण्ड्स पहिलो एक दिवसीय क्रिकेट ‘ओडीआई’मा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएका छन् ।
ऐतिहासिक ‘ओडीआई’ को दोस्रो खेल जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारस खड्कासहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली सोमबार स्वदेश फर्किएका हुन् ।
त्यस्तै, नेपाली टोलीका युवा खेलाडी सन्दीप लामिछाने भने ‘सीपीएल’ खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज प्रस्थान गरिसकेका छन् । यता, शरद भेषवाकर पनि टोलीसँगै नेपाल फर्केका छन् । गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन ‘टु’ खेलपछि शरद उतैबाट श्रीमती नायिका निशा अधिकारीसँगै अमेरिकामा बसोबास गर्दै आइरहेका थिए ।
शरद जिम्बावेमा सम्पन्न विश्व एक दिवसीयको छनोट खेल र नेदरल्याण्ड्समा खेल्न अमेरिकाबाटै गएका थिए ।
पहिलो पटक एक दिवसीयको मान्यता पाएपछि नेदरल्याण्ड्सविरुद्ध २ खेलको ‘ओडीआई’ सिरिज खेलेको थियो । पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको नेपालले दोस्रो ‘ओडीआई’ भने नेदरल्याण्ड्सलाई १ रनले पराजित गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष पछि नेपालले पहिलो पटक गत चैतमा एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो ।
यसअघि लर्ड्समा टी—२० को ट्राइ सिरिज र नेदरल्याण्ड्ससँग ‘ओडीआई’ श्रृङ्खला खेलेपछि नेपाली टोली स्वदेश फर्केका हुन ।
तस्वीर: सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया