चार पदक विजेता जुडो खेलाडीसहितको टोली स्वदेश फिर्ता

काठमाडौं । थाइल्याण्डमा सम्पन्न नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीसहितको टोली सोमबार स्वदेश फर्किएका छन्।

च्याम्पियनसिपमा दुई स्वर्ण, एक रजत र एक कास्य पदक विजेता खेलाडीहरुलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य लगायत संघका पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । 
प्रतियोगितामा सहभागी चारै  खेलाडीले पदक जितेका थिए ।

पुरुष ६६ केजीमुनि तौलसमूहमा इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि तौलसमूहमा मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण पदक दिलाएका थिए । त्यस्तै, महिलाको ७८ केजीमूनि पुनम श्रेष्ठले रजत र ५२ केजीमूनि देविका खड्काले कास्य पदक जितेका थिए ।  

च्याम्पियनसिपमा नेपाल समग्रमा तेस्रो भएको हो । जापान पहिलो स्थानमा रहँदा आयोजक थाइल्याण्ड दोस्रो भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?