काठमाडौं । नेपालमा नै पहिलो पटक भलिबलको लेभल ‘टू’ कोचिङ कोर्स काठमाडौंमा सोमवारबाट शुरु भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरेका थिए ।
उदघाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै ओलम्पिक कमिटीका अध्यक्ष सांसद श्रेष्ठले भलिबल राष्ट्रिय खेल भएका कारण यसको विकास र विस्तारमा सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे ।
‘भलिबलको बिकास संघको मात्र चासोको कुरा होइन, यो आम नेपालीको गौरवको विषय हो । साथै, राष्ट्रिय खेलको बिकास गर्नु हाम्रो दायित्व पनि हो ।’ अध्यक्ष श्रेष्ठले भने ।
नेपालमा स्तरीय प्रशिक्षकहरुको उत्पादन बढाउनका लागि पहिलो पटक लेभल ‘टू’ कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जनाएको छ । नेपालमा लेभर ‘टू’ कोर्स पूरा गरेका प्रशिक्षक अहिलेसम्म पाँच जना मात्र छन् ।
भलिबल संघका महासचिव जितेन्द्र चन्दले कोर्स पूरा गर्नका लागि बिदेश जाँदा धेरै खर्च लाग्ने भएकाले फेडेरेसन अफ इन्टरनेशनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कोर्समा नेपालबाट १६, भारतबाट २ र सिरियाबाट १ प्रशिक्षार्थी प्रशिक्षकको सहभागिता छ । उनीहरुलाई एफआईभीका कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिनेछन् ।
कोचिङ कोर्स पाँच दिनसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया