ओसामा बिन लादेनको छोराको विवाह भएको सार्वजनिक

दिवंगत अल–कायदा नेता ओसामा बिन लादेनको छोरा हम्जा बिन लादेनले मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेको सार्वजनिक भएको छ । परिवार स्रोतका अनुसार मोहम्मद अट्टा अमेरिकामा सेप्टेम्बर २००१ मा भएको विमान हमलाका प्रमुख अपहरणकारी हुन् ।

हम्जाको विवाहलाई ओसामा बिन लादेनका सौतेनी भाई अहमद र हसन अल–अट्टासले अन्तरवार्ताको क्रममा पुष्टि गरे ।
“हामीले हम्जाले मोहम्मद अट्टाको छोरीसँग विवाह गरेको भन्ने सुनेका छौं,” अहमद अल–अट्टासले भने,“ उनी कहाँ छन् भन्ने चाहिँ प्रष्ट छैन । सायद अफगानीस्तानमा पो छन् कि ?”

अहमद र हसन दाजुभाईका अनुसार हम्जाले अल–कायदाको शीर्ष तहको स्थान लिएको विश्वास गरिएको छ । साथै हम्जामा २०११ मे २ मा पाकिस्तानको अबोट्टोवादमा अमेरिकी सेनाको छापाका क्रममा भएको आफ्नो पिताको मृत्युको बदला लिने लक्ष्य रहेको विश्वास गरेको बताए ।

हम्जा ओसामा बिन लादेनको तीन जीवित श्रीमती मध्य एक खईरिए सबरको सन्तान हुन् । सबर बिन लादेन मारिँदा अबोट्टावादको घरमै थिइन् । 
आफ्नो पिताको मृत्यु भएपछि हम्जाले समर्थकहरुलाई संयुक्त राज्य, संयुक्त अधिराज्य, फ्रान्स तथा इजरायल विरुद्ध आक्रमण बढाउन आह्वान गरेका थिए । उनलाई अल–कायदाको वर्तमान नेता एमन अल–जवाहिरीको सहायक रुपमा हेरिएको छ । 

पश्चिमी गुप्तचर एजेन्सीहरुले विगत दुई वर्षदेखि हम्जाको लुकेको स्थानबारे खोजी गरिरहेका छन् ।

ओसामा बिन लादेनका अर्का छोरा खालिद अबोट्टावादको छापाको क्रममा मारिएका थिए । तेस्रो छोरा साद सन् २००९ मा भएको ड्रोन हमालामा अफगानिस्तानमा मारिए । 

ओसामा बिन लादेनको घरबाट प्राप्त भएको कागजातबाट लादेनले हम्जालाई आफ्नो स्थान लिने हिसाबले हुर्काइरहेको देखिन्छ । लादेनको मृत्यु पछि दिवंगत सैन्य नेताकी श्रीमतीहरु र बचेका छोराछोरीहरु साउदी अरब फर्किएका थिए ।

उनीहरुलाई तत्कालीन युवराज मोहम्मद बिन नायीफले साउदीमा शरण दिए । साउदीमा रहेका श्रीमतीहरु तथा छोराछोरीहरु ओसामा बिन लादेनकी आमा अलिया घनेमसँग निकट सम्पर्कमा रहेको घनेम आफैंले अन्तवार्तामा बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?