प्रदेशमै रहेर संघीय राजनीतमा दखल राख्ने भारतीय नेताको निधन

एजेन्सी : भारतको दक्षिणी प्रदेश तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करूणानिधिको निधन भएको छ ।

५ पटक तमिलनाडुको मुख्यमन्त्री भएर प्रदेश सरकार हाँकेका करूणानिधिको ९४ वर्षको उमेरमा निधन भएको हो ।

तमिलनाडुको सामाजिक र आर्थिकरूपमा उनले गरेको योगदानलाई भारतीय राजनीतिमै महत्वपूर्ण मानिएको छ ।

६० वर्षसम्म प्रदेशसभाको विधायक रहेका करूणानिधि चुनाव लडेदेखि व्यक्तिगतरूपमा कहिल्यै हारेनन् ।

३ जुन १९२४मा जन्मेका करूणानिधिले लेखनकलाका रूपमा चर्चा बटुलेका थिए । मद्रासको प्रेसीडेन्सी स्कूलको पाठयक्रममा हिन्दीलाई समावेश गर्ने प्रयासको विरोध गरेर १८ वर्षको उमेरमा विद्यार्थी राजनीतिमा हाम फालेका थिए ।

तमिल स्टुडेन्ट फोरम गठन गरी राजनीति शुरू गरेका करूणानिधिले आफ्नो राजनीतिक गुरू सीएन अन्नादुरैको वरदहस्त पाए ।

अन्नादुरैले द्रविडार कझगम(डीके)बाट छुट्टिएर द्रविड मुनत्र कझगम(डिएमके) बनाउँदा करूणानिधि उनका धेरै निकट पुगिसकेका थिए ।

२५ वर्षको उमेरमा डिएमके पार्टीको प्रचार समितिमा समावेश भए ।

करूणानिधिले आफ्नो लेखनकलाबाट तमिल फिल्म क्षेत्रमा पनि खुबै नाम कमाएका छन् ।

संवाद लेखनका लागि राजाकुमारी र पराशक्ति हिटभएपछि करूणानिधिलाई विशेषरूपले चिनिन्छ ।

कल्लाक्कुडी भन्ने ठाउँको नाम फेरेर डालमियापुरम राखेको विरोध गरेका कारण ६ महिना जेलमा हालिएपछि करूणानिधिको हैसियत पार्टीमा बलियो भयो ।

१९५७बाट प्रदेशसभाको चुनाव लडन थालेपछि कहिल्यै चुनाव हारेनन् ।

१९६७मा उनको पार्टी डिएमके सत्ता पायो । मुख्यमन्त्री अन्नादुरै हुँदा उनी तेस्रो वरियताका मन्त्री बनेका थिए ।

त्यतिबेला लोक निर्माण र परिवहन मन्त्रालय पाएपछि उनले सबै नीजी बसलाई राष्ट्रियकरण गरिदिए ।

सबै बससेवालाई हरेक गाउँसम्म जोडिदिए । अन्नादुरैको १९६९मा मृत्यु भएपछि उनले मुख्यमन्त्रीको जिम्मेवारी पाए ।

त्यसपछि उनको युग आरम्भ भएको मानिन्छ । १२ एकड जमिनको हदबन्दी कायम गरे । पिछडा वर्गका व्यक्तिहरूको आरक्षण ३१ प्रतिशत बढाए  र  मन्दिरहरूमा पुजारी बन्न सबैका लागि कानुनी हैसियत प्रदान र छोरीलाई कानुन बनाएर सम्पत्ति अधिकार दिएर  विशेष चर्चा पाएका थिए ।

हाते रिक्शामा रोक र निशुल्क स्वास्थ्य बीमा पनि उनको कार्यकालको महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ ।

संघीय सरकारका पूर्व प्रधानमन्त्री वीपी सिंहलाई सहयोग गरेका थिए ।

संघीय सरकारमा सहभागी भएर केन्द्रीय सत्ताका खेलाडी भए तर आफू प्रदेशमै बसिरहे ।

अदालतको फैसला आएपछि उनको अन्त्येष्टि गरिनेछ । पूर्वमुख्यमन्त्री जयललितालाई अन्त्येष्टि गरिए निकट उनको अन्त्येष्टि गर्न अदालत समक्ष माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?