धनगढी । प्रदेश ७ सरकारले मुख्यमन्त्री र मन्त्रीको तलब–सुबिधासम्बन्धी विधेयक पारित गरेको छ । मंगलबारको मन्त्रिपरिषद्बाट पारित विधेयक प्रदेश सभामा पेस गर्ने सरकारी तयारी छ ।
मुख्यमन्त्रीको ६० हजार ९ सय ७०, मन्त्रीको ५४ हजार, राज्यमन्त्रीको ५१ हजार र सहायकमन्त्रीको मासिक तलब ४९ हजार तोकिएको छ ।
प्रदेशसभाले विधेयक पारित गरेपछि कानुनका रूपमा लागू हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव यज्ञप्रसाद भट्टराईले बताए ।
त्यस्तै अन्य सुविधाहरुमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले सञ्चार सुविधाबापत मासिक २ हजार पाउने व्यवस्था विधेयकमा उल्लेख छ । अतिथि सत्कार शीर्षकमा मुख्यमन्त्रीले मासिक ९ हजार र मन्त्रीले ७ हजार पाउने प्रस्ताव गरिएको कानुनसचिव भट्टराईले जानकारी दिए । यसैगरी मुख्यमन्त्रीलाई प्रदेश सरकारले नै आवास उपलब्ध गराउनेछ । तर, मन्त्रीले सरकारी आवास नलिएमा आवासबापत मासिक २५ हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीले दुई र मन्त्रीले एक–एकवटा सवारी साधन र आवश्यक इन्धन तथा मोबिल प्रदेश सरकारले नै उपलब्ध गराउने विधेयकमा उल्लेख छ । यसैगरी मुख्यमन्त्री र मन्त्रीले दैनिक भ्रमण भत्ता २ हजार ५ सय र विदेश भ्रमण भत्ता प्रतिदिन २२५ डलर तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया