भानु दाहाल-
सुहागरात कै दिन
कान नजिकै ओंठ जोडाएर
बिस्तारै सोधेँ– छोरा कि छोरी ?
मेरो सवालले निष्पट्ट अँध्यारो त्यो रातमा
उनी लजाइन् या क्रुद्ध बनिन् मैले देखिन,
मैले सोधिन पनि उनले बताइनन् कहिल्यै पनि ।
उनीमाथि वेपर्वाह थोपरिएको
बडेमानका मेरा चार हातपाउ पन्छाउँदै
कोल्टे फेरेर सुस्तरी भनिन्– छोरा ।
किन, तिमिलाई छोरी मन पर्दैन ?
मन पर्दैन ।
किन भनेर सोध्नु अगाडि
दुई वाक्यमा उनले फर्काएको जवाफभित्र
दुई हजार बढी कारणहरु छन् भन्ने बुझ्न
दिनदिनै समाजमा घटेका
कयौँ बलात्कार र हत्याका दर्दनाक खबरहरु नै काफी थिए ।
मैले पनि कोल्टे फेरेँ ।
निम्बुखेडा खोला नजिकै बलात्कृत भइ
हत्या गरिएकी ती अबोध बच्ची निर्मलाको
अन्तिम संर्घषपुर्ण चित्कार घना उखुबारी भित्रबाट
कयौँ माईल टाढा म सम्म आइपुगेर
“बाबा, अब म छोरी भएर जन्मिनै चाहन्न” भने झैं लाग्यो ।
फेरि निर्मला जन्माएर म कसरी बलात्कृत गराउँ ?
मेरै आखाँ अगाडि, मेरै प्राण भन्दा प्यारी छोरीलाई ।
त्यसो भए उनलाई जस्तै
मलाई पनि छोरी मन पर्दैन ।
कयौं छोरीहरुको बलात्कारमा
किन समाज बोल्दैन ?
किन राज्य बोल्दैन ?
के यिनीहरुलाई पनि
छोरी मन पर्दैन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया