आउँछन्, जान्छन् – पोस्टरमा मात्र सीमित छन् नेपाली फिल्म

काठमाडौं । अहिले नेपाली सिनेमाको बजारमा तुसारो लागेको छ । बजारमा फिल्म तुसारोजस्तै छपक्कै छाएका छन् । तर, दर्शकलाई कुनै पनि फिल्मले हलसम्म तान्न सकेका छैनन् । बरु उल्टो दर्शक बिच्काएका छन् ।

पछिल्लो समय (यही वर्ष) को शुरुवाती लक्षणलाई मूल्याङ्कन गर्ने हो भने फिल्मको बजारमा दर्शकको खडेरी लागेको छ । कतिपय फिल्म हलमा रिलिज भएको दिन नै सिनेमा घरबाट ‘आउट’ हुन थालेका छन् । पहिलेदेखि नै चलिआएको यो परम्पराले अहिले झनै निरन्तरता पाएको छ ।

यस वर्ष रिलिज भएका फिल्मको व्यापार हेर्ने हो भने केही फिल्म शहरका भित्तामा टाँसिएका ‘पोस्टर’ मै सीमित भएका छन् । त्यसमाथि केही राम्रा भनेर प्रशंसा बटुलेका फिल्मले पनि आशा गरेजस्तो व्यापार गर्न सकेनन् । यसरी हेर्दा नेपाली फिल्मले उल्टो दर्शक बिच्काएका छन् । अर्कातिर, हलमा स्तरीय फिल्म नुहँदा नेपाली फिल्मका दर्शकले पनि राम्रो फिल्म हेर्न नपाएको गुनासो गर्न थालेका छन् ।

वर्ष २०७५ मा प्रदर्शनमा आएका फिल्ममध्ये ‘कायरा’ ले केही हदसम्म आफ्नो लगानी सुरक्षित गर्ने अड्कल काटियो । बक्स अफिस लागू भएपछिको अवस्था हेर्ने हो भने यो फिल्मले केही आशालाग्दो व्यापार ग–यो । तर, फिल्मले भने दर्शकको चित्त बुझाउन कुनै कोणबाट सकेन ।

यो फिल्म कमाइको हिसाबले केही आशावादी देखिए पनि प्रतिक्रिया र मेकिङको हिसाबले कमजोर फिल्म बन्न पुग्यो । कति दर्शकले त आर्यन सिग्देललाई गाली नै गरे ।

पछिल्लो समय चर्चामा आएका फिल्म सुनकेसरी, कोहलपुर एक्सप्रेस, लिलिबिली लगायतका केही थान फिल्मले त अझ केक काट्ने, पार्टी खुवाउने समेत गरे । तर, व्यापारिक हिसाबलाई आधार मान्ने हो भने यी फिल्म पनि नाफा कमाउन नसक्ने फिल्म हुन् । चर्चामा आएको पछिल्लो फिल्म ‘शत्रु गते’ ले भने व्यापार राम्रो ग–यो ।

पोस्टरमै सीमित नेपाली चलचित्र

यसै वर्ष रिलिज भएका बेबी आइ लभ यु, हैरान, बाबु कान्छा, यो पागल मन, सुकुल गुण्डा, ह्याप्पी न्यू इयर, मन त परदेशी, अफिसर, झमकबहादुर, चीँमुसीचीँ लगायतका कैयन् फिल्महरु बजारमा ‘पोस्टर’ बने । दर्शकले यीमध्ये कति फिल्मको त नाम समेत सुनेनन् ।

वर्षको अन्ततिर चलेको करिष्मा मानन्धरको फिल्म ‘हिरोज’ ले पनि आफ्नो हिरोइज्म देखाउन सकेन । फिल्म पूरापूर फ्लप भयो । यस्ता उदाहरण धेरै देखिए ।

यी मध्ये धेरै फिल्म शहरका भित्तामा टाँसिए । अर्को फिल्मले ती पोस्टर पुरिए ।

केही चलचित्र चर्चामा आएर पनि हलबाट ‘आउट’ भए । चल्छ कि भनेझैँ ‘बिरङ्गना’ फिल्म पनि केही शहरका भित्तामा टाँसिएको पोस्टरमै सीमित भयो । हलसम्म दर्शक तान्न सकेन ।

समीक्षात्मक रुपले समेत खासै राम्रो प्रतिक्रिया नपाएका केही फिल्मले भने हल्का भएपनि व्यापार गर्ने सफल देखिएका छन् । पछिल्लो समय बोबी, भैरै लगायतका केही चलचित्रले धेरथोर व्यापार गरेको बताइन्छ । यी बाहेक कैयन् फिल्म पोस्टरमै सीमित हुन पुगेका छन् ।

चर्चामा आएर पनि ‘रोमियो एण्ड मुना’ हलमा धेरै दिन बस्न सकेन । यसको केही दिन अघि मात्र आएको सस्तो बजेटको फिल्म ‘चक्कर’ ले त निर्माता रविन आचार्यलाई चक्कर नै लगाइदियो । कतिपय दर्शक भोलि फिल्म हेर्न जानुपर्ला भनेको भए ती दर्शकले भोलि उक्त फिल्म हेर्न नै पाएनन् ।

फिल्म ‘हरि’ को कमाइका हिसाबले हरिबिजोग भएपनि मेकिङका हिसाबले भने यो फिल्मले केही ढाडस पाएको थियो । तर, राम्रै प्रशंसा पाएको यो फिल्म हल्लामै आएर हल्लामै हरायो ।

पछिल्लो फिल्मको मूल्याङ्कन गर्ने हो भने नेपाली सिनेमाको बजार खस्किँदै गएको कतिपय फिल्मकर्मी बताउँछन् । एकथरी भने फिल्मको बजार बढ्दै गएको धारणा राख्छन् । मेकिङका हिसाबले फिल्मले केही पाइला अगाडि बढ्ने मौका त पाएका छन् तर फिल्म आफै व्यावसायिक बन्न नसक्दा निर्माताहरुलाई फिल्मको बाढीले घाँटीसम्म डुबाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?