काठमाडौं । मलेसियामा यहि भदौं दोस्रो साताबाट शुरु हुने एसिसी एशिया कप छनोटको लागि नेपालको १९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १९ सदस्यीय टिमको बिहीवार घोषणा गरेको हो । नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय श्रृङखलामा टिममा नपरेका सुनील धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र किशोर महतोलाई टिममा बोलाएका छन् ।
यता, दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले भने एशिया नखेल्ने बताइएको छ । नेपाली टिमले यहि मंगलबारदेखि बन्द प्रशिक्षण शुरु गर्ने पनि जानकारी दिएको छ । क्याम्पबाट एशिया कप छनोट खेल्ने १५ सदस्यीय टिमको घोषणा गरिनेछ ।
एशिया कप छनोटको पहिलो खेलमा नेपालले ओमनसँग प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपालसहित संयुक्त अरब इमिरेट् युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमान रहेका छन् । नेपाल र युएईबीचको खेल भने एकदिवसीय मान्यता प्राप्त हुनेछ ।
यसैगरी नेपालले छनोटअघि श्रीलंकामा वैदेशिक प्रशिक्षण गर्ने भएको छ। नेपाली टोली अगष्ट २० मा श्रीलंका प्रस्थान गर्नेछ र त्यहाँ ३ वटा अभ्यास खेल खेल्ने बताइएको छ ।
छनोट टिमले भारत र पाकिस्तानसँग खेल्न पाउने
६ टिम मध्ये छनोट पार गर्ने एक टिमले आगामी भदौ ३० देखि युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।
एशिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ । मलेसिया हुने प्रतियोगिताबाट छनोट हुने टिम भारत र पाकिस्तान रहेको समूहमा पर्नेछ ।
एशिया कपको समूह ’ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टिम हुनेछ। समूह ’बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
प्रारम्भिक टिम:-
पारस खड्का (कप्तान), बसन्त रेग्मी, विनोद भण्डारी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ज्ञानेन्द्र मल्ल, किशोर महतो, ललित भण्डारी, मोहमद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, सोमपाल कामी, सागर पुन, सुनील धमला, सन्दीप लामिछाने, सुसन भारी, सुवास खकुरेल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया