‘एशियाड’ प्याराग्लाइडिङमा नेपाल सहभागी, दिलाउला पदक ?

काठमाडौं । प्याराग्लाइडिङ । यो खेलप्रति अहिले युवा युवतीको आकर्षण बढ्दो छ ।

चराजस्तै स्वतन्त्र भएर आकाशमा उड्दै, मनोरम दृश्य अवलोकन गर्न पाउँदा जो कोहीलाई पनि एक पटक प्याराग्लाइडिङ गर्ने इच्छा जाग्नु स्वभाविक हो । पर्यटन विकाससँगै जोडिएको प्याराग्लाइडिङलाई साहसिक खेलको रुपमा लिने गरिएको छ ।

 विशेषगरी पर्यटकीय शहर पोखरामा अत्याधिक उडाइने प्याराग्लाइडिङ अहिले नेपालको विभिन्न शहर  धरान, स्याङजा, बन्दीपुर, पाल्पा, काठमाडौं र सुर्खेत लगायतको ठाउँबाट सञ्चालन हुँदै आइरहेको छ । 

नेपाली टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला/पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यही साहसिक हवाई खेलले आसन्न १८ औं एशियाली खेलकुद ‘एशियाड’मा सहभागिता जनाउँदैछ । नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको यो खेलबाट पदकको आशा पनि गरिएको छ । 

आउँदो भदौ २ गतेबाट इन्डोनेशियामा शुरु हुने ‘एशियाड’मा पाँच पुरुष र तीन महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । 

नेपाली प्याराग्लाइडिङ टोलीले इण्डिभिजुअल एक्युरेसी, टिम क्रस कण्ट्री र टिम एक्युरेसीमा महिला/पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिस्पर्धा गर्ने पुरुष खेलाडीहरुमा टिम कप्तान विमल अधिकारी, विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ र विजय गौतम छन् भने महिलामा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङ रहेका छन् ।

‘एशियाड’को तयारी स्वरुप खेलाडीहरुले गत वैशाख २३ गतेदेखि पोखरामा बन्द प्रशिक्षणमा बसेका थिए । खेलाडीहरुलाई प्रशिक्षकद्वय योगेश भट्टराई र सानुबाबु सुनुवारले प्रशिक्षण दिइरहेका छन् ।  

त्यस्तै, संघका महासचिव शैलेन्द्र रावलले खेलाडीहरुले इन्डोनेशियामा राम्रो प्रर्दशन गर्ने बताए ।

‘हाम्रो खेलाडीहरुको तयारी निक्कै राम्रो भइरहेको छ । अहिले खेलाडीहरु प्रतिस्पर्धा गर्नका लागि इन्डोनेशिया पनि गइसकेका छन् । हाम्रो खेलाडीले यो ‘एशियाड’ मा कुनै न कुनै पदक ल्याउनेमा म ढुक्क छु ।’ उनले लोकपथलाई भने । 

‘क्रसकन्ट्री लामो दूरीको पाराग्लाइडिङ हो । तोकिएको स्थानमा ल्यान्डिङ गर्ने विधा एक्युरेसी हो । क्रसकन्ट्रीमा पोख्त भए पनि एक्युरेसी विधा नेपालका लागि नौलो हो । तर, त्यसका बावजुत पनि हाम्रो खेलाडीले यो विधामा पक्कै मेडल ल्याउनेछ ।’ उनले थपे । 

प्याराग्लाइडिङमा दक्षिण कोरिया, इन्डोनेसिया, जापान र थाइल्यान्डको टिमलाई बलियो मानिन्छ । 

इन्डोनेशिया प्रस्थान गर्नुअघि सामुहिक तस्वीर खिचाउँदै प्याराग्लाइडिङ खेलाडीसहितको टोली 

‘नेपाली टिमले ‘एशियाड’ कै तयारीस्वरुप चीनमा प्रि-वल्र्डकपमा पनि भाग लिएको थियो । त्यतिबेला नेपाली टिमले तेस्रो स्थान हात पारेको थियो ।’ उनले बताए । 

यता, संघका अध्यक्ष तथा प्रशिक्षक योगेश भट्टराईले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जितिसकेको बताए । ‘सरकारले नै संयोजन गरेर पठाउन लागेको भने यो पहिलो प्रतिस्पर्धा हो ।’ उनले बताए । 

नेपालले सन् २०१६ मा इन्डोनेशियाको जार्कातामा नै भएको प्रि-वल्र्ड कपमा टिम क्रसकन्ट्री विधा पनि जितेको थियो । 

नेपालले एशियाली खेलकुदमा सहभागिता जनाएको ६ दशक नाघिसक्यो । तर, पदक संख्या भने मात्र २३ छ ।

त्यसमा पनि तेक्वान्दोकी सबिता राजभण्डारीले जितेको रजत पदक नै नेपाली खेलकुद क्षेत्रले पाएको सबैभन्दा ठूलो उपलब्धि हो । २२ पदक काश्यमा नै सिमित रहेको नेपालले नयाँ खेल प्याराग्लाइडिङ त्यसमा पनि ‘क्रसकन्ट्री’ विधामा अब्बल नेपाली खेलाडीले स्वर्ण पदकको आश गर्न सकिएला ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?