शम्भु माली
कपिलवस्तु । कपिलवस्तु प्रहरीले पछिल्लो एक महिनाको अवधिमा चोरीका १८ वटा सवारी साधन बरामद गरेको छ । बरामद भएकामा १६ थान मोटरसाइकल र २ थान स्कुटी रहेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा मोटरसाइकल चोरीमा संलग्न गिरोहका ६ जनालाई नियन्त्रणमा लिएसँगै चोरीका मोटरसाइकल बरामद गरेको हो ।
अधिकांश मोटरसाइकलमा नक्कली नम्बर प्लेट र भारतीय नम्बर प्लेट राखेको भेटिएको छ । प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ अभियुक्तलाई चोरी मुद्दा चलाई आवश्यक अनुसन्धान अगाडि बढाएको छ । यसैबीच प्रहरीले बरामद गरेको युपी ५५ पि ५२१२ नम्बरको स्पलेन्डर मोटरसाइकल भारतको उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बढनी थानामा कार्यरत प्रहरी शिव कुमार प्रजापतिको रहेको खुल्न आएपछि प्रहरी उपरीक्षक मनोज कुमार यादवले सो मोटरसाइकल हस्तान्तरण गरेका छन् ।
दुई महिनाअघि आफना आफन्तले तौलिहवा बजार आउँदा बजारमा पार्किङ्ग गरेका बेला चोरी भएको मोटरसाइकल बरामद गरी दिएकोमा उनले प्रहरीलाई धन्यवाद समेत दिए ।
पछिल्लो समय आफूहरुले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिई २ थान स्कुटी र १६ थान मोटरसाइकल बरामद गर्न सफल भएको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए । उनले नागरिकले अपराधका घटनाको सूचना प्रहरीलाई दिने कार्यले यस्ता अपराधलाई निरुत्साहित पार्ने बताए ।
प्रहरीले कपिलवस्तु एरियाको सुरक्षालाई कडा बनाउँदै लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया