काठमाडौं । नेपाली राष्ट्रिय टिमले अफगानिस्तासँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अफगानिस्तानको टिम सन् २०१३ देखि नेपालसँग फुटबल खेल्न तयार रहेको अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले जानकारी दिएको हो ।
‘साफ’ राष्ट्रको सदस्यता त्यागेर मध्य एशियामा आवद्ध भएको अफगानिस्तान र नेपालबीचको मैत्रीपूर्ण खेल आगामी नोभेम्बर १४ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पनि ‘एन्फा’ ले बताएको छ ।
एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाण्डेले नेपालसँगको मैत्रीपूर्ण खेल खेल्न अफगानिस्तानको फुटबल संघ तयारी अवस्थामा रहेको बताए ।
‘नेपालसँगको ऐतिहासिक मैत्रीपूर्ण खेलका लागि पहिले अफगानिस्तानले प्रस्ताव गरेको हो । हाम्रो टिमको नोभेम्बर १४ मा कुनै कार्यक्रम नरहेकाले मैत्रीपूर्ण खेल आयोजना गर्ने निर्णय भएको हो । नेपाली टिमलाई अफगानिस्तानमै खेल्ने निमन्त्रणा पनि पठाएको थियो तर हामीले त्यहाँ जानेबारे सोचेका छैनौं । नेपालमै फुटबलको माहोल बनाउन चाहन्छौं ।’ उनले भने ।
फिफा वरियतामा नेपालभन्दा अफगानिस्तान १६ स्थानमाथि रहेको छ । अहिलेसम्मको अफगानिस्तानसँगको भेटमा नेपालले ३ जित, २ हार र १ मा बराबरी गरेको छ ।
तालिवान शासनको अन्त्यसँगै अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको अफगानिस्तान पहिलो प्रतियोगिताका लागिसन् २००३ मा काठमाडौं आएको थियो । त्यतिबेला एशियन कप छनोटमा नेपालले अफगानिस्तान ४–० ले हराएको थियो ।
सन् २००८ मा मलेसियामा भएको 'मर्डेका कप'मा भने नेपाल २-२ गोलको बराबरीमा रोकिएको थियो ।
त्यस्तै, सन् २००९ मा भएको ‘साफ’ च्याम्पियनसिपमा नेपालले ३-० को जित निकालेको थियो । सन् २०११ मा भएको एएफसी च्यालेन्ज कप छनोट पनि नेपालले अफगानिस्तानलाई १-० ले हराएको थियो ।
यसैबीच, थाइल्यान्डको राष्ट्रिय टिमले पनि नेपाली टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
आगामी डिसेम्बरमा थाइल्याण्डको राष्ट्रिय टोली नेपालमा आउन तयार रहेको 'एन्फा'ले जानकारी दिएको हो । त्यस्तै, म्यानमारले पनि नेपालसँग मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव पठाएको हो । तर, म्यानमारको प्रस्ताव गरेको मितिमा बंगलादेशमा ‘साफ’ च्याम्पियनसिप हुने हुँदा खेल्न नमिल्ने पनि जानकारी दिए ।
‘साफ’ च्याम्पियनसिप र एशियाली खेलकुदको तयारीमा अहिले नेपाली टिम १० दिने वैदेशिक प्रशिक्षणका लागि बैंककमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया