काठमाडौं । अखिल नेपाल फुटल संघ ‘एन्फा’को निर्वाचित नयाँ कार्यसमितिले तीन महिनासम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको छ ।
सातदोबाटोस्थित ‘एन्फा’ कम्प्लेक्समा शुक्रवार औपचारिक रुपमा पत्रकार सम्मेलन गर्दै निर्वाचित भएको ३ महिनापछि ‘एन्फा’ले गरेको प्रगति विवरण तथा आगामी दिनमा गर्नेे कार्य सार्वजनिक गरेको हो ।
गत वैशाख २२ गते कर्मा छिरिङ शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति आएसँगै ‘एन्फा’ले ‘ए डिभिजन’ लिग फुटबलको मिति तोक्नुका साथै साउन ३० गते विशेष साधरणसभा गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, वैशाख २४ गते ‘एन्फा’ को पहिलो बैठकले विगत चार वर्ष देखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग लगायत विभिन्न विषयमा छलफल गरेको थियो ।
‘एन्फा’को यसअघिको बैठकले ‘ए डिभिजन लिग’ असोज १३ गतेबाट सञ्चालन गर्ने निर्णय गरिसकेको छ । लिगका लागि भनेर विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी समेत गठन गर्दै काम अगाडी बढाइरहेको छ । तर, पहिलो पटक रेलिगेसन बिनाको लिग हुने एन्फाले जानकारी दिएको थियो ।
यता एन्फाका केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले तीन महिनाको अवधिमा धेरै उपलब्धि मुलुक काम भएको बताए ।
‘हामीले निर्वाचित नयाँ कार्य समितिले तीन महिनाको अवधिमा निकै उपलब्धि मुलुक कार्यहरु गरिसकेका छौं । हामीले राष्ट्रिय स्तरमा ललित स्मृति यू—१६ च्याम्पियनसिप, एन्फा कप इन्टर स्कुल फुटबल, उपराष्ट्रपति महिला लिग र उपराष्ट्रपति महिला राष्ट्रिय लिगको साथै राष्ट्रिय रेफ्री कोर्स सफलतापूर्वक सम्पन्न गरिसकेका छौं ।’ उनले लोकपथलाई भने ।
साथै, प्रवक्ता राईले अर्को साता चितवनमा विशेष साधारण सभा गर्ने तयारी गरिरहेको र विधानमा केही परिमार्जन गरिने समेत बताए ।
‘नेपालमा ए डिभिजन लिग शुरु गर्न नसकेको अवस्थामा अहिले पुनः सञ्चालन गर्ने तयारीमा सबै एन्फा पदाधिकारीहरु लागि परिरहेका छन् । चार वर्षको अन्तरालपछि शुरु गर्न लागेको लिगप्रति हामी सबैजना सकरात्मक हुन जरुरी छ ।
यसपालि रेलिगेसन नभए पनि लिगलाई कसरी व्यवस्थित बनाएर लैजाने भन्ने विषय हाम्रो लागि निक्कै चुनौतीपूर्ण छ । उनले थपे ।
नयाँ कार्यसमिति आए पश्चात नेपालले ९ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । पुरुष राष्ट्रिय टोली अहिले ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीका थाइल्याण्डमा प्रशिक्षणरत छ । त्यस्तै, महिला यू—१५ महिला टोली ‘साफ’ च्याम्पियनसिपको लागि भुटान छ ।
प्रवक्ता राईले आगामी असोज ३ देखि ७ सम्म एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोट गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैगरी, असोज ४ देखि १४ सम्म भारतको आग्रामा हुने ४६ औँ एसियन स्कुल फुटबल प्रतियोगितामा नेपालको यू-१८ ले खेल्ने कार्यतालिका रहेको छ । भुटानमा हुने साफ यू-१८ मा पनि नेपालले सहभागिता जनाउँदैछ भने कार्तिक ८ गतेदेखि १४ सम्मसाफ यू-१५ ब्वाइज च्याम्पियनसिप आयोजना गर्ने पनि उनले बताए ।
नेपालले थाइल्याण्डमा असोज ३१ देखि कात्तिक ७ सम्म हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप पनि खेल्नेछ ।
त्यस्तै कात्तिक २२ देखि २७ सम्म हुने २०२० ओलम्पिक्स छनोट पनि नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्नेछ ।
पत्रकार सम्मेलनमा बोल्दै एन्फा प्रवक्ता राईले राजुकाजी शाक्यलाई राष्ट्रिय टिमको प्रशिक्षकबाट बर्खास्त गरिएको नभई उनको स्थानमा बालगोपाललाई राखेको प्रष्ट पारेका छन् ।
‘राजुकाजी शाक्यलाई बर्खास्त गरेका होइनौँ । बीचमा गतिविधि नभएको बेला हामीले बालगोलपाल महर्जनलाई जिम्मा दिएका हौँ । तर, एन्फाले राजुकाजीलाई हटाएको होइन ।’ उनले लोकपथलाई भने ।
राईले राजुकाजीलाई हिजै पत्र पठाएको र शुक्रवार छलफल समेत भइसकेको समेत बताए ।
यता, रसियामा भएको फिफा कंग्रेसमा प्रतिनिधको रुपमा भाग लिएका एन्फाको अन्तर्राष्ट्रिय सल्लाहकर नविन पाण्डे विदेशी नागरिक नभइ एनआरएन भएको राईले जानकारी दिए ।
‘एन्फाको पहिलो बैठकबाट उनलाई अन्तर्राष्ट्रिय सल्लाहाकार नियुक्त गरिएको हो । साथै, अध्यक्ष र महासिचव सहित उनलाई पनि फिफा कंग्रेसमा पठाउने निर्णय भएको हो । पाण्डे विदेशी नागरिक भन्दा पनि ‘एनआरएन’ हुन् ।’ राईले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया