राष्ट्रिय स्क्वासको उपाधि अरहान्त र भावनालाई

काठमाडौं । अरहान्तकेशर सिम्ह र भावना सुनुवार तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको च्याम्पियन बन्न सफल भएका छन्। 

शनिवार सम्पन्न भएको पुरुष सिंगल्सको खेलमा अरहान्त र महिलामा भावनाले लगातार तेस्रो पटक यो प्रतियोगिताको उपाधि जितेको हो । 

सातदोबाटोमा शनिवार सम्पन्न भएको पुरुष फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ११–७, ७–११, ११–८ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा भावनाले कृष्ण थापालाई ११–५, ११–७ र ११–१ को सोझो सेटमा हराइन् ।

मास्टर्स ५० वर्षमाथि सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले दिलिपनरसिंह अधिकारीलाई ११–६, ११–८ र ११–५ ले पाखा लगाउँदै पहिलो भए ।
    
यु–१५ ब्वाइज सिंगल्समा विकास मगरले स्वर्ण जिते । उनले फाइनलमा सलिम थापा मगरलाई ११–४ र ११–५ को सोझो सेटमा निराश पारे । सोही स्पर्धाको गल्सान सपना ब्लोन च्याम्पियन बनिन् । फाइनलमा सपनाले मुस्कान राउतको चुनौती ११–४ र ११–३ ले समाप्त पारिन् ।

यु–१९ ब्वाइज सिंगल्स फाइनलमा अमिर ब्लोनले विजय मगरलाई ११–९, ११–३ र ११–३ को सीधा सेटमा पाखा लगाउँदै शीर्ष स्थान हात पारे ।

पुरुष सिंगल्सको प्लेटतर्फ अमिर ब्लोन पहिलो भए । उनले फाइनलमा स्टिभ फ्रान्सिसलाई १२–१०, ११–९, ६–११ र ११–८ को सेटमा पन्छाए ।

विजेता खेलाडीहरुलाई  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । 

पाँच मदिने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ६ रुपैयाँ रहेको छ ।

आयोजक संघका अध्यक्ष महर्जनकी आमा धनलक्ष्मी महर्जनको स्मृतिमा विगत ३ वर्षदेखि प्रतियोगिता हुँदै आएको छ । अध्यक्ष महर्जनले नै प्रतियोगिताको प्रायोजन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?