मुलुकी ऐनले बाध्यो प्रहरीलाई,  जथाभावी पक्राउ गर्न नपाइने

काठमाडौं । मुलुकी अपराध संहिता ऐनमा प्रहरीले अब जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाउने भएको छ । 

भदौ १ गतेदेखि लागू हुन मुलुकी अपराध संहिता ऐन परिच्छेद – १५ को गैरकानूनी थुना सम्बन्धी दफामा बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख गरिएको छ ।

अपराधमा संलग्न भएको प्रमाणित भएपनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख हो । प्रहरीले अपराधमा संलग्न अपराधिलाई पक्राउ गर्नु पूर्वक कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने नयाँ मुलुकी ऐनमा उल्लेख गरिएको छ । अन्यथा पक्राउ गर्नेमाथि नै कारबाही हुने पनि ऐनमा उल्लेख छ ।

यदि बदनियत पूर्वक थुनामा राखिएको पाईए त्यस्तो कार्यमा संलग्न जो कसैलाई पनि ३ वर्ष कैद र ३० हजार जरिवाना हुने ऐनले व्यवस्था गरेको छ ।

यसैगरी कुनै पनि व्यक्तिलाई गोप्य तरिकाले थुनामा राख्न नहुने पनि ऐनमा उल्लेख छ । 

अब थुनामा भएको व्यक्तिको गोप्य कुरा र त्यस ठाउँको जानकारी अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था गरेपछि यस्तो कार्य नियन्त्रणमा आउने देखिएको हो ।

प्रहरी वा अरु कसैले पनि गोप्य तरिकाले कुनै व्यक्तिलाई थुनामा राखे त्यस्तो कार्यमा संलग्नलाई ४ वर्ष कैद र ४० हजारसम्म जरिवाना हुने पनि ऐनमा उल्लेख गरिएको छ ।

यस्तै ऐनले थुनामा रहेका व्यक्तिलाई कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधाबाट बन्चित गर्न नपाउने पनि उल्लेख छ । थुनामा रहेका व्यक्तिलाई मानवोचित सुविधाबाट बञ्चित गरे थुनामा राख्ने व्यक्तिलाई डेढ वर्ष कैद र १५ हजारसम्म जरिबाना हुने ऐनमा व्यवस्था गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?