प्रदीप खड्काको धारणामा ‘रोजी’ र ‘रामकहानी’ जुध्दा कसलाई फाइदा?

काठमाडौं । आउँदो भदौ २२ मा दुई चलचित्र एकसाथ भिड्ने भएपछि यतिबेला अन्य चलचित्रको तुलनामा ‘रोजी’ र ‘रामकहानी’ को चर्चा अलिक बढी भइरहेको छ । यसैबीच ‘रोजी’ टिमले काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राख्यो । उक्त भेटघाट कार्यक्रममा प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, निर्देशक लगायत उपस्थित थिए ।

कार्यक्रममा बोल्दै फिल्मका निर्देशक निरक पौडेलले रामकहानीसँग फिल्म जुधाएको भनिए पनि वितरकले यही मिति पारेकाले फिल्म नजुधाएको भन्न मिल्ने बताए । उनले सुदर्शन थापा नजिकका मित्र पनि भएकोले उक्त फिल्मलाई फ्लप पार्न रिलिज मिति नजुधाएको बरु एउटै मितिमा अरु पनि फिल्म जुधिरहेकाले यसलाई इस्यु नबनाउन आग्रह गरेका थिए ।

त्यस्तै अभिनेता प्रदीप खड्काले पनि आफूले कथाले मागेअनुुसारको फिल्ममा अभिनय गरेको धारणा राखे । मिडियामा यो फिल्म रोजी महर्जनको घटनासँग सम्बन्धित भएको भनेर आरोप आए पनि फिल्मको कथा उक्त घटनासँग नमिलेको उनले बताए ।

साथै प्रदीपले मिडियामा आउने समाचारलाई लिएर टिप्पणी समेत गरे । फिल्म रिलिजअघि प्रदीपका कारणले चल्न सक्छ भनेर समाचार आउने तर पछि फिल्म चले पनि प्रदीपका कारणले चलेको समाचार पढ्न नपाएको उनले बताए ।

‘फिल्म चल्नुअघि प्रदीपका कारण फिल्म चल्न सक्छ भनेर पढिएको हुन्छ, तर पछि फिल्म हिट भयो भने पनि प्रदीपको कारणले चल्यो भनेको कतै पढ्न पाइन्न’, उनले भने, ‘तर, मलाई दुखेसो पनि छैन, किनकि फिल्म चलेन भने म कारण हुनसक्छु, चल्यो भने सबै टिमको हात हुन्छ, केही दर्शक मैले राम्रा फिल्ममा काम गर्छु भनेर पनि आउन सक्नुहुन्छ ।’

‘रामकहानी’ सँग फिल्म जुधाएको भनिरहेका बेला प्रदीपले भने यसरी फिल्म जुध्दा दुवै टिमलाई फाइदा भएको बताए । उनले भने, ‘यदि फिल्म सँगै रिलिज हुँदैनथ्यो भने हामीले फिल्मको प्रचार गरिरहनुपथ्र्यो, अहिले आफै दुवै फिल्मको हाइप बनेको छ, शुक्रवार र शनिवारसम्म दुवै फिल्म चल्छन्, आइतवारबाट जुन राम्रो छ, त्यही चल्छ ।’

प्रदीप खड्का, मिरुना मगर, परमिता राज्यलक्ष्मी राणा, कर्मा, वरुण लगायतका कलाकारको अभिनय रहने रोजीलाई निरक पौडेलले निर्देशन गरेका छन् । यसअघि पौडेलले कुसुमे रुमाल २ र होमवर्क फिल्म निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?