बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता नै अन्यौलमा, यस्तो छ कारण ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले डिफेन्डिङ च्याम्पियन नेपालले पुरस्कारबापत पाउन बाँकी २५ हजार अमेरिकी डलर नपाए यसपालीको बंगबन्धु गोल्डकपमा सहभागी नहुने बताएको छ । 

सन् २०१६ जनवरी २२ मा ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा बहराइनको यू–२३ टिमलाई ३-० गोलले पराजित गर्दै नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा उपाधि जितेको थियो ।

त्यतिबेला नेपालका लागि विमल घर्तिमगर, विशाल राई र नवयुग श्रेष्ठले समान एक-एक गोल गरेका थिए । 

‘बीएफएफ’ले दुई वर्ष हुन लाग्दा पनि सबै पुरस्कार रकम दिई सकेको छैन् । जब बंगलादेशको फुटबल संघले पुरा रकम दिदैन् तबसम्म नेपाली फुटबलले सहभागिता जनाउदैन।

स्वर्णिम यात्रा शुरु गरेको नेपाली टिमले ढाकामा नै भएकोे १२ औं दक्षिण एसियाली खेलकुद ‘यू-२३’मा स्वर्ण पदक र ‘एएफसी सोलिडारिटी’ कपको  उपाधि जितेको थियो । 

बंगबन्धु गोल्डकप आयोजक बंगलादेश फुटबल महासंघ ‘बीएफएफ’ले चौथो संस्करणको  उपाधि विजेतालाई ५० हजार डलर दिने घोषणा गरेको थियो । तर, उपाधि विजेता नेपालले अहिलेसम्म त्यो नगद पाउन सकेको छैन् । 

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले कप्तान विराज महर्जन र प्रशिक्षक बालगोपाल महर्जनलाई ट्रफी प्रदान गरेको थियो । तर, ट्रफी थापेको ३० महिना बितिसक्दा पनि पुरस्कारको आधा रकम मात्र बंगलादेश फुटबल महासंघले दिएको छ । ‘एन्फा’ले पटक-पटक ताकेता गरेपछि मात्र ‘बीएफएफ’ले गत मार्च २ तारिखमा २५ हजार डलर मात्र पठाएको बताइएको छ । 

‘एन्फा’का केन्द्रिय सदस्य तथा प्रवक्ता किरण राईले ‘बीएफएफ’ले बाँकी आधा पुरस्कार रकम नदिएसम्म नेपाली टिम सहभागी नहुने बताए ।

‘बीएफएफ’ले दुई वर्ष नाघिसक्दा पनि पुरै पुरस्कार रकम दिएको छैन् । जबसम्म बंगलादेशको फुटबल संघले पुरा रकम दिदैन् तबसम्म नेपाली फुटबलले सहभागिता जनाउदैन। हामीले ‘बीएफएफ’लाई चिठी पठाएको एक साता भयो । तर, उताबाट अहिलेसम्म केही प्रतिक्रिया आएको छैन्,’ उनले लोकपथलाई भने । 

फाइल तस्वीर: चौंथो बंगबन्धु गोल्डकपको उपाधि जिते पश्चात सामूहिक तस्वीर खिचाउँदै नेपाली टोली

साथै, उनले पुरस्कार रकम बाँकी रहदा नै ‘बीएफएफ’ले पाँचौ संस्करणको सहभागिताको लागि निमन्त्रणा पठाएको पनि बताए । 

‘पुरा रकम लिन बाँकी नै छ । यस्तैमा ‘बीएफएफ’ले सहभागिताको लागि निमन्त्रणा पठाएको छ ।  तर, हामीले यो प्रतियोगितामा सहभागी हुने नहुने तत्काल निर्णय गरिसकेका छैनौं । बंगलादेश फुटबल संघले बाँकी पुरस्कार रकम दिए अवश्य नेपाली टिमले बंगबन्धु गोल्डकप खेल्नेछ,’ उनले थपे । 

पाँचौ संस्करणको बंगबन्धु गोल्डकप आगामी असोज १५ देखि बंगलादेशमा  सञ्चालन गर्ने घोषणा गरिसकेको छ । प्रतियोगितामा नेपाल, फिलिपिन्स, प्यालेस्टाइन र आयोजक बंगलादेश सहभागी हुने बताइएको छ ।

तर, ‘बीएफएफ’बाट पाउनु पर्ने बाँकी रकम नपाएसम्म नेपालको सहभागिता अनिश्चित जस्तै बनेको छ । लिगकम नकआउटका आधारमा खेलाइने यो प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउने ‘बीएफएफ’ले जनाएको छ । 

सन् १९९९ सम्पन्न भएको दोस्रो संस्करणको बंगबन्धु गोल्डकपमा नेपालले पहिलो पटक भाग लिएको थियो । त्यतिबेला नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

सन् २०१६ मा नेपालले इतिहास रच्दै अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक उपाधि जितेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?