काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो ।
उनको मृत्युको खबरले भारत शोकमा डुबेको छ । उनलाई धेरै संगीतका हस्तीलगायत भारतीय प्रधानमन्त्री नरेन्द मोदी भारतका उपराष्ट्रपति, राहुल गांधी, अरमान मलिक, श्रेया घोषाललगायत धेरैले श्रद्धाञ्जली दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द मोदीले चर्चित गायक केकेको निधनले आफू स्तब्ध भएको बताएका छन् ।
त्यस्तै, उपराष्ट्रपति वेंकैया नायडूले श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो मार्मिक स्वर र सुमधुर गायनका लागि परिचित केकेको निधनले संगीत जगतलाई ठूलो क्षति पुर्याएको बताएका छन् ।
कांग्रेस नेता राहुल गान्धीले पनि गायक केकेको निधनमा शोक व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटमा लेखेका छन्,- ‘केके भारतीय संगीत जगतका सबैभन्दा बहुमुखी गायक थिए। उहाँको मार्मिक स्वरले हामीलाई धेरै यादगार गीतहरू दियो। हिजो राति उनको असामयिक निधनको खबरले दुखी बनाएको छ । उनको परिवार र विश्वभरका फ्यानहरूप्रति मेरो समवेदना’
केकेको निधनमा शोक व्यक्त गर्दै अरमान मलिकले ट्वीट गरेका छन्,- ‘धेरै दुःख लागेको छ । हामी सबैको लागि अर्को स्तब्ध पार्ने खबर। विश्वास नै लाग्दैन कि हाम्रो केके सर अब रहेनन्… के हुँदै छ’, श्रेया घोषालले पनि गायक केकेको निधनमा शोक व्यक्त गरेकी छिन् ।
सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।
उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’ नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।
हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन् । झण्डै ७ सय बढी गीत गाएका उनी सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुन् ।
उनका लोकप्रिय गीतमा ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इण्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया