काठमाडौं । राष्ट्रिय खेलकुद परिषद ‘राखेप’ले नेपाल एथलेटिक्स संघको साधारण सभा स्थगित गर्न आदेश दिएको छ ।
चितवनको सौराहमा मंगलवार तय भएको साधारण सभालाई स्थगित गर्नका लागि ‘राखेप’ले निर्देशन दिएपछि साधारण सभा तथा निर्वाचन कार्यक्रम स्थगित भएको हो । निर्वाचन कमिटीको म्याद चार वर्ष हुनु पर्ने प्रावधान रहेपनि नेपाल एथलेटिक्स संघको भने एक वर्ष बढी समय नाघिसकेको छ । वि.स. २०७० सालमा एथलेटिक्स संघको निवार्चन सम्पन्न भएको थियो ।
संघका वर्तमान अध्यक्ष राजिव विक्रम शाहीले निर्वाचन तथा साधारण सभाका लागि खेलकुद परिषदबाट प्रतिनिधि पठाउन आग्रह समेत गरेका छन् ।
तर, आसन्न १८ औं ‘एशियाड’मा खेलकुद परिषद् व्यस्त रहेको भन्दै संघको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गर्न निर्देशन दिएको हो ।
खेलकुद परिषद्ले साधारण सदस्य वितरण, जिल्ला संघ पूर्नगठन, केन्द्रिय प्रतिनिधि छनौट र पेश्की तथा बेरुजु फच्र्यौट सम्पन्न गराउन तोक आदेश दिएको थियो । एथलेटिक्स संघले निर्वाचनका सबै प्रक्रिया र परिषद्को तोक आदेश अनुसार पालना भइसकेको दाबी गरेको छ ।
संघका अध्यक्ष शाहीले भने संघको साधारण सभा र निर्वाचन चाडो सम्पन्न गर्न आफु तयार रहेको बताए । साथै, उनले ‘एशियाड’को खेल सम्पन्न भए लगतै संघको साधारण सभा गर्ने पनि जानकारी दिए ।
यसैबीच, ‘एशियाड’ मा सहभागी हुने ६ जना एथलेटिक्स खेलाडीहरुलाई मंगलवारै बिदाई गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया