काठमाडाैं । नविन चौहानले तयार पारेको नाटक ‘चाेरको स्वर’ मञ्चन हुने भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारबाट उक्त नाटक मञ्चन हुन लागेको हो ।
नाटकमा अनिल सुब्बा र अन्वेषण राई थुलुङ्गको परिकल्पना तथा निर्देशन रहेको छ। नाटकमा लिम्बू समुदायमा प्रचलित भागीविवाहको कथालाई प्रस्तुत गरिनेछ।
कुनै केटाले केटी भगाइसकेपछि केटा पक्षबाट ‘हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भद्र भलादमीहरू विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’ भनिन्छ। माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रीतिरिवाजअनुसार विवाहको प्रसङ्ग अघि बढ्छ।
आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारलाई देख्न सकिनेछ ।
नाटक जेठ २० गतेदेखि असार १५ गतेसम्म मञ्चन हुनेछ। हरेक दिन साँझ ५ बजे नाटक थापागाउँस्थित मण्डला थिएटरमा हेर्न सकिनेछ भने शनिबार १ बजे पनि हेर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया