आन्तरिक उडानको ‘इनरुट पूर्वानुमान गर्न सकिँदैन : मौसम विभाग

लोकपथ
49
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरुट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ । मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।

यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिन्छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ । तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको छ ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ। आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?