चितवन । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को १७ औं विशेष साधारणसभा सौराहामा जारी छ । विशेष साधारणसभाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उदघाट्न गरेका थिए ।
साधरण सभाले विधानलाई संघीय प्रणाली अनुकुलको बनाउनुका साथै नियमावलीहरू पनि पारित गर्नेछ ।
‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार क्षेत्रीयस्तरको संरचनालाई प्रदेश तहको बनाउन विधान संशोधन हुनेछ ।
त्यस्तै, आर्थिक नियमावली, कार्य सञ्चालन, कर्मचारी प्रशासन नियमावली र खेलाडी दर्ता नियमावली साधरणासभामा पेश हुने अध्यक्ष शेर्पाले जानकारी दिए । ‘एन्फा’को आर्थिक नियमावली अहिलेसम्म थिएन । खेलाडी दर्ता नियमावलीमा अनलाइनबाट समेत क्लबले खेलाडी दर्ता गर्ने व्यवस्था गर्न लागेको उनले बताए ।
भदौं १ गतेबाट जुनसुकै क्लबले अनलाइनमार्फत खेलाडीहरुले दर्ता गर्न सकिने पनि जानकारी दिए ।
‘खेलाडीहरुको दर्ता अनलाइनमार्फत गर्ने नयाँ प्रारम्भ शुरु गर्दैछौ । त्यसबाट उठेको रकमले खेलाडी र क्लबको इन्सुरेन्स बढ्नेछ । खेलाडीहरुलाई दर्ता गर्दा कन्ट्रयाक पेपर अनुवार्य रुपमा पेश गर्नु पर्नेछ । खेलाडी जिवन भनेको १० देखि १५ वर्ष सम्म हो । त्यसपछि हामीले खेलाडीको वृद्धी विकासका लागि अक्षयकोषलाई बढाउने काम गर्नेछौ । अब देखि हामीले ग्राउण्ड लेभल तथा स्कुल लेभरका खेलाडीहरुको दर्ता अनलाइनमार्फत लिनेछौं,’ उनले भने ।
अध्यक्ष शेर्पाले 'ए' डिभिजन लिग खेलका दौरान आइपर्ने क्लबसँगको समस्याहरु पनि हटाइने बताए ।
‘हामीसँग कर्मचारी र प्रशासनिक नियमावली छैन् । कर्मचारी र दरबन्दीलाई व्यवस्थित गर्न फुटबल संघलाई अझ व्यवस्थित गर्न यसपाली देखि कर्मचारी नियमावली थपिनेछ,’ उनले थपे ।
साथै, एन्फा प्रेसिडेन्ट कपबाट छानिएको ४ र शहिद स्मारक 'ए' डिभिजन लिगबाट छनोट भएको ६ टिमबीच राष्ट्रिय लिग खेलाइने पनि अध्यक्ष शेर्पा जानकारी दिए । उनले भनेका छन्, ‘हामीले राष्ट्रिय लिगलाई पनि पहिलो प्राथमिकतामा राख्नेछौं । साथै, राष्ट्रिय लिगलाई निरन्तर रुपमा आयोजना गर्ने तयारी गरिरहेका छौं,’
'एन्फा'को विषेश साधारण सभामा जिल्ला संघको मताधिकारको विषयमा निर्णय हुनेछ । मुलुक संघियतामा गइसकेको अवस्थामा 'एन्फा'ले पनि आफ्नो विधान संघिय संरचना अनुशार नै संसोधन गर्ने तयारी गरेको छ ।
जसका कारण हाल विद्यमान जिल्ला संघहरुको मताधिकार प्रदेशमा सिमित हुनेछ जसमा जिल्ला संघहरुले विरोध जनाउन सक्नेछन् ।
संघिय संरचना अनुशार विधान संसोधन भएमा प्रदेश १ बाट १० जना मतदाता सहित ३० जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।
त्यस्तै, प्रदेश २ बाट ८ जना मतदाता सहित २४ जना प्रतिनिधि, प्रदेश ३ बाट ११ जना मतदाता सहित ३३ जना प्रतिनिधि, प्रदेश ४ र ५ बाट ६ जना मतदाता सहित १८ जना तथा प्रदेश ६ र ७ बाट २ जना मतदाता सहित ६ जना प्रतिनिधिले केन्द्रिय अधिवेशनमा सहभागिता जनाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया