काठमाडौं । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
विभाहा मुक्ति स्टेडियममा हुने यि दुई टिमबीचको खेल नेपाली समयअनुसार आज साँझ ६ः३० बजेपछि शुरु हुनेछ । ‘एशियाड’मा नेपाल र भियतनाम पहिलो पटक आमने-सामने हुँदैछन् ।
सिनियर राष्ट्रिय टिममा भने नेपाल र भियतनाम दुई पटक भिडिसकेका छन् । दुई पटकको भिडन्तमा नेपाल भियतनामसँग पराजित भएको छ ।
सन् २००३ को सेप्टेम्बरमा भएको ‘एएफसी एसिया कप’ अन्तर्गतको दुई लेगको पहिलो खेलमा नेपाल ५–० ले तथा दोस्रो खेलमा २–० ले पराजित भएको थियो ।
पहिलो खेलमा एसियाली पावरहाउस जापानसँग १–० गोलले पराजित भएको नेपाल भियतनामविरुद्धको खेलमा जीत हात पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछन् ।
त्यस्तै, भियतनामले आफ्नो समूहको पहिलो खेलमा पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो ।
नेपालविरुद्ध जित या बराबरी निकाले भियतनाम एक खेल अगावै ‘एशियाड’ फुटबलको दोस्रो चरणका पुग्नेछ । पराजयले भने अन्तिम खेल नै कुर्नुपर्ने हुन्छ । त्यस्तै, आजै जापानले पाकिस्तानको सामना गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया