काठमाडौं । फ्राइडे फिल्मअन्तर्गत आज शुक्रवारदेखि काठमाडौंका विभिन्न हलमा एकसाथ चार चलचित्र प्रदर्शन हुँदैछन् । आजदेखि हलमा ब्ल्याक, बाह्रमासे, मिस्टर भर्जिन र जय शम्भु रिलिज हुँदैछन् । यीमध्ये ‘बाह्रमासे’ प्रचारमा खासै देखिएको छैन । धेरैलाई फिल्म हलमा रिलिज भएको पनि थाहा छैन ।
भारतको स्वतन्त्रता दिवसका अवसर पारेर नेपालमा पनि बुधवार नै रिलिज भएका चलचित्र गोल्ड र सत्यमेव जयते पनि हलमा छन् । साथै अङ्ग्रेजी फिल्म अल्फा र द मेग पनि प्रदर्शनमा छन् ।
नेपाली फिल्ममध्ये आज प्रदर्शन हुने ‘ब्ल्याक’ मा आकाश श्रेष्ठ र आँचल शर्मालाई मुख्य भूमिकामा देख्न सकिन्छ । प्रदीप श्रेष्ठले निर्देशन गरेको यो चलचित्रले पहिले नै रिलिज हुने भनिए पनि आवश्यकता अनुसार प्रचार गर्न नपाएको भन्दै भदौ १ गतेमा आइपुगेको थियो । फिल्मलाई लभस्टोरी भनिएको छ । चलचित्रमा आश्मा पाण्डेको लगानी छ भने आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारको अभिनय गरेका छन् ।
यस्तै आजै प्रदर्शन हुने लय संग्रौलाले निर्देशन गरेको चलचित्र ‘बाह्रमासे’ पनि प्रदर्शन भएको छ । चलचित्रमा जयकिशन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, राधा श्रेष्ठ, सबनम दाहाल लगायतका कलाकारले अभिनय गरेका छन् । मल्टिप्लेक्स हलमा रिलिज नभएको यो चलचित्र सिंगल थिएटरका हलमा भने प्रदर्शनमा आएको छ ।
यस्तै चलचित्र ‘मिस्टर भर्जिन’ पनि प्रदर्शनमा आएको छ । यौन मनोविज्ञानलाई उठाइएको यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोला रिजाल, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय गरेका छन् फिल्ममा । चलचित्रमा महेश दवाडीको कथा रहेको छ ।
यसअघि दवाडीले ‘पण्डित बाजेको लौरी’ पनि लेखेका थिए. जुन फिल्म फ्लपको सूचीमा अटाएको छ ।
आजैबाट रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ चलचित्र पनि प्रदर्शनमा आउँदैछ । यसमा प्रशान्त ताम्राकार, वर्षा शिवाकोटी र अनुपविक्रम लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया