काठमाडौं । नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले यही भाद्र ७ देखि १२ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १५औँ संस्करण “नाडा अटो सो २०२२” आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको यही जेठ २६ गते देखि ३० गते सम्म स्टल बुकिङका लागि रजिष्ट्रेसन खुला गरिने नाडाले जानकारी दिएको छ ।
सीमित ठाउँ तर प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यसवर्ष पनि गोला प्रथाद्वारानै स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा २–पांग्रे, ४–पांग्रे, वितीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेसन गर्न मिल्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
विगतका संस्करणहरुमा उल्लेख्य रुपमा सोधपुछ भएकाले यस वर्षदेखि कमर्सियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्सियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकिङ रजिष्ट्रेसन आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया