सिजी मोटर्सद्वारा निटा ब्रान्डको ‘निटा भी’ विद्युतीय कार सार्वजनिक

लोकपथ
77
Shares

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्स वातावरणमैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ । चौधरी ग्रुप १५० वर्षभन्दा लामो समयदेखि विभिन्न व्यवसायमा संलग्न रहँदै आएको नेपालको प्रतिष्ठित व्यवसायीक घराना हो । भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्ड निटा नेपाली बजारमा सार्वजनिक गरेको छ ।

निटा ब्रान्ड चिनियाँ मोटर उत्पादक कम्पनी होजोन अटोमोबाइलले उत्पादन गर्दै आएको छ । सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थको आयात घटाई व्यापार घाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पुर्याउन आफुहरुले विद्युतीय सवारीको प्रवर्द्धन गरेको बताए ।

सिजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोका क्रसओभर कार नेपाली बजारमा ल्याएको हो । अन्य अधिकांश सवारी उत्पादकले आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भएपनि निटा ब्रान्ड भने पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ ।

सिजी मोटर्सले ‘सीजी रिभोलुसन’को नारासहित न्यू इनर्र्जी सवारीलाई प्राथमिकता दिने नीतिमा रहेका कारण धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउन चाहेको थियो । नेपाली उपभोक्ताको चाहना र कम्पनीको उद्देश्य पूरा हुनेगरि होजोनले उत्पादन गरेको निटा ब्रान्ड सीजी मोटर्सले ल्याएको हो । सिजी मोटर्सले विश्व वातावरण दिवसको अवसर पारेर वातावरणमैत्री विद्युतीय सवारी निटा भी सार्वजनिक गरेको हो ।

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरु चीनमै छन् । तिनै शक्तिशाली मध्येको एक होजोन अटोमोबाइल हो । होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो ।

होजोन अटोले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर सन् २०१८ मा स्थापना गरेको थियो । होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरुमा टप ब्रान्डमा पर्दछ । होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज हो ।

होजोनले निटा ब्रान्डका कार उत्पादन गर्दै आएको छ । सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा निटा भी कार ल्याएको हो । होजोनले २०२० मा निटा भी सार्वजनिक जनिक गरेको थियो र २०२१ मा निटा यू प्रो र निटा एस सार्वजनिक गरेको थियो ।

सिजी मोटर्सले सुरुमा नेपाल ल्याएको निटा भीले एक पटकको फुल चार्जमा ३८०+ (एनईडिसी) किलोमिटर रेन्ज दिनेछ । निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ । फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो कारमा गर्र्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली रहेको छ ।

होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरुसँग रणनीतिक साझेदारीकालागि सम्झौता गरेको छ । कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो । सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो । र, निटामा सीएटीएलले नै उत्पादन गरेको लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

नेपाली बजारमा उपलब्ध निटा भी विभिन्न ५ रंगमा उपलब्ध छ भने यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने छ । सीजी मोटर्सका सीईओ हेमन्त अग्रवालले नेपालको यातायात क्षेत्रमै नयाँ आयाम ल्याउने लक्ष्यसहित नयाँ प्रविधि र नवीतम सोचसहितका सवारी ल्याइएको बताए ।

डिजेल/पेट्रोल सवारीले वातावरण प्रदूषण गर्ने भएकाले सीजी मोटरले विद्युतीय सवारीमात्र आयात गर्ने योजना बनाईएको उनको भनाइ छ । त्यस्तै, सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने छ । सीजी मोटर्सले स्टेट अफ आर्टमा आधारित वर्कसप तथा चार्जिङ नेटवर्क बनाउँदै जाने तयारीमा रहेको अग्रवालले बताए ।

सीजी मोटर्स निटा एस र निटा यू नेपाली उपभोक्तालाई अर्को वर्षसम्म उपलब्ध गराउने योजनामा छ । होजोनको रिसर्च सेन्टर अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा तथा बेइजिङमा डिजाइन सेन्टर रहेको छ । होजोन विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलको लगानीकर्ता कम्पनीसमेत हो ।

निटा भीको विशेषता
लेन्थ– ४ हजार ७० एमएम
वाइड– १६ सय ९० एमएम
हाइट– १५ सय ४० एमएम
ह्वीलवेस– २४ सय २० एमएम
कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम
अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा
शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा
ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम
ब्याट्री– ३८.५ केडब्लूएच सीएटीएल लिथियम
मोटरको पावर– ७० केडब्लू र ९० पीएस
चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२
अधिकतम टर्क– १ सय ६० एनएम
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
सिट क्षमता– ५
बुट स्पेस– ३ सय ३५ लिटर
यो कारमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ । निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?