काठमाडौं । गतवर्ष व्यापारिक रुपमा सफल भएका चलचित्रलाई हेर्ने हो भने हास्य (कमेडी) फिल्म नै अगाडि छन् । वर्षको अन्तमा आएर चलचित्र ‘शत्रु गते’ ले गज्जबको व्यापार ग–यो । फिल्म क्षेत्रमा धमाका मच्चायो ।
त्यस्तै वर्ष २०७४ कै दशैँ छेकोमा रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा २’ ले पनि राम्रै व्यापार ग–यो । तर, यो चलचित्रलाई एकथरी दर्शकले भने खासै रुचाएनन् । व्यापारिक दृष्टिले चलचित्र कमाउने फिल्ममा गनिन्छ ।
यी दुवै चलचित्र कमेडी विधाका थिए ।
गतवर्ष प्रदर्शन भएका अन्य विधाका चलचित्रमध्ये धेरै चलचित्रले खासै तारिफ बटुल्न सकेनन्, न त व्यापार नै राम्रो गर्न सके । अर्कातिर कमेडी धारमा फिल्म निर्माणको बाढी रोकिएन । यद्यपि केही चलचित्रले भने करोडौं कमाएको भन्दै केक पनि काटे सोही वर्ष ।
त्यसो त पछिल्लो समयमा आएर कमेडी चलचित्र पनि खासै उग्र चलेको रेकर्ड छैन । बीचमा अन्य धारका फिल्म पनि आए । एउटा माहोल बनाए । तर, पनि कमेडी चलचित्रको बजार अन्य चलचित्रको हिसाबले केही भरपर्दो मानिन्छ ।
यसैको प्रभाव हुनुपर्छ, कमेडी फिल्म अन्य विधाका हिसाबले बढी बनाइन्छन् । यतिसम्म कि, फिल्म बनाउने नै मनोरञ्जनका लागि हो भन्ने परिसकेको छ केही फिल्मकर्मीमा ।
तर, फिल्म मनोरञ्जन मात्र होइन, विशुद्ध कला पनि हो । जुन नेपाली चलचित्रमा कमै प्रयोग गरिन्छ ।
कहिलेसम्म कमेडी चलचित्रले बजार पिट्ला? फिल्म ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘नेपाली दर्शक देश, काल र परिस्थितिका कारण आफै दिक्क छन्, एकछिन भए पनि रमाइलो चाहन्छन्, हामीले त्यही रमाइलो दर्शकको मनमा छिराइदिने हो, शायद यही कारणले अहिलेलाई कमेडी सिनेमाको बजार छ ।’
उनका अनुसार कमेडी हुँदैमा चल्छ नै भन्ने त छैन । तर, अलिकति मेहनत गर्न सकियो भने फिल्म चल्छ ।
नेपालमा बन्ने सबै विधाका फिल्म एकनासका हुने तर कमेडी फिल्ममा कमजोरी लुकाउन सकिने प्रदीप बताउँछन् । ‘हो, नेपालमा सबै फिल्म एउटै लेभलको बन्छ, तर कमेडी फिल्मले अन्य प्राविधिक त्रुटिलाई ओझेलमा पारिदिन्छ, यसकारण दर्शकले कमेडी फिल्म रुचाउनुभएको हुनसक्छ, त्रुटि पनि कम भएझैँ लाग्छ’, निर्देशक भट्टराई भन्छन्, ‘हामी टेक्निटकल हिसाबले धेरै माथि पुग्न सकेका छैनौँ, अहिले यस्तै कमेडी फिल्म बनाएर दर्शक हलसम्म तान्ने हो ।’
जुन मात्रामा कमेडी सिनेमाले दर्शक पाएका थिए । त्यो माहोल केही कम भएको छ पछिल्लो समयमा आएर । कमेडी जानरामै बनाएका र राम्रा भनिएका कैयन् फिल्मलाई दर्शकले पत्याएका छैनन् । दर्शक उही शैलीको फिल्म हेर्दाहेर्दा मोनोटोनस हुन थालेका छन् ।
निर्माता तथा कलाकार दीपकराज गिरी दर्शकलाई ‘भात र आलु’ मात्र दिने हो भने भोलि फिल्म क्षेत्र नै धराशायी हुने बताउँछन् ।
‘हामीलाई हतारमा फिल्म निर्माण गर्न र फ्लोरमा जान नै हतार हुन्छ, जसले गर्दा फिल्म पनि हतारमै उत्रिन्छ’, दीपकराज गिरी भन्छन्, ‘हामीले त पहिलेदेखि नै कमेडी जानरामा फिल्म बनाउँदै आएको हो, हाम्रो जानरा नै त्यही हो, अहिले जुन फिल्म हिट भयो, त्यहीजस्तो अर्को बनाउने प्रचलन छ, यो घाटा हो ।’
बजारमा कमेडी सिनेमाको बाढी आए पनि त्यसमध्ये केही फिल्म मात्र हिट छन् । तीबाहेक अन्य चलचित्र पनि फ्लप नै छन् । तर दर्शकले केही चित्तबुझ्दा फिल्मका लागि भने टिकट काटेका छन् ।
‘कमेडी फिल्म बनाउन असाध्यै गाह्रो काम हो, हामीले वर्षौंदेखि कमेडी धारमै काम गरिरहेका छौं र त यति गाह्रो छ, यहाँ त चल्यो भन्दैमा कमेडी बनाउने चलन नै बनेको छ ।’, गिरी सुनाउँछन् ।
गिरीले भनेझैँ जति पनि नेपाली फिल्म निर्माण हुनेमा एकथरीले फिल्म बुझेर बनाउँछन् । त्यसरी बनाइएका फिल्ममा केही फिल्म हिट पनि छन् । तर, केही मेकरले भने फिल्मलाई बुझेर हैन, देखेर बनाउँछन् । जुन फिल्म सीधै फ्लप हुन्छन् । यसको दीर्घकालीन असर छ – नेपाली फिल्ममाथि नै दर्शकले चोर औँला ठड्याउँछन् ।
यसरी फिल्मको ट्रेन्ड कपी गर्न खोज्नु दर्शक बिच्काउने काम भएको दीपकराज गिरी बताउँछन् । ‘जुन हिट भयो, त्यस्तै अर्को बनाउने चलन छ, यो राम्रो होइन, भात र आलु मात्र खायो भने पनि त्यसले मोनोटोनस बनाउँछ, यसले फिल्म क्षेत्रलाई धराशायी बनाउँछ ।’, उनी भन्छन् ।
जुन फिल्म बन्यो, त्यस्तै खालको फिल्मको लस्कर आउने ट्रेन्डले दर्शकलाई पनि कन्फ्युज बनाइदिएको छ । फिल्म कमेडी होला भनेर दर्शक हलसम्म त पुग्छन् । तर फिल्म ‘टेलिफिल्म’ जत्तिको पनि नहुँदा दर्शक हलबाट निराश भएर फर्किन्छन् ।
अर्काथरी भने फिल्ममा प्रयोग गरेझैँ गरेर लगानी गरिरहेका हुन्छन् । फिल्म बनाउँछन्, डुब्छन् । अर्कातिर दुःख गरेर स्तरीय फिल्म बनाउने मेकरका फिल्ममा पनि दर्शकले शंका गर्छन् ।
बरु अहिले फिल्ममेकर हेरेर त्यसका मूल्याङ्कनमा फिल्म हेर्न जाने दर्शकको सङ्ख्या पनि बढ्दै गइरहेको छ । ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘सधै एकनासका फिल्म बनिरहने हो भने, दर्शकलाई मोनोटोनस हुने पक्का छ, कमेडी फिल्मको बजार दुई कुराले हट्न सक्छ, एउटा त दर्शकले फरक स्वादको फिल्म रोज्न थाल्नेछन्, अर्को कुरा मेकर आफैले पनि फरक बनाउने भन्नेमा सोच्ने बेला आउन सक्छ ।’
यद्यपि यस्ता फिल्मको बजार कहिलेसम्म रहन्छ भन्ने कुरा यकिन गर्न नसकिने भट्टराईको भनाइ छ । ‘अहिलेको बजारलाई हेरेर कहिलेसम्म यस्ता फिल्म चलिरहन्छन् भनेर यसै भन्न सकिने अवस्था छैन, तर दर्शक मोनोटोनस हुने सम्भावना चाहिँ छ ।’, भट्टराई थप्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया