जाकार्ता । इन्डोनेशियामा जारी १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
आइतवार भएको समूहको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेल शुरु भएको १२ औँ मिनेटमा नेपालले उपहार गोल पायो ।
१२ औं मिनेटमा युनिस सहबिजले आत्मघाती गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडी रहेको पाकिस्तानले दोस्रो हाफमा बराबरी गोल फर्कायो ।
खेलको ५५ औँ मिनेटमा पाकिस्तानका लागि बिलाल मोहम्मदले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यस्तै, खेलको ७२ औँ मिनेटमा पाकिस्तानका सद्दाम हुसेनले गोल गर्दै खेललाई २-१ को स्थितीमा पुर्याए ।
निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल २-१ ले हार्यो । यसअघि भएको समूहको दुवै खेलमा नेपालले हार बेहोरेको थियो ।
समूहको पहिलो खेलमा जापानसँग १-० तथा दोस्रो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो ।
नेपालको ३६ वर्षको गोल खडेरी टर्यो
पाकिस्तानविरुद्धको अन्तिम खेलमा नेपालले खेलको १२ औँ मिनेटमा उपहार गोल पायो । पाकिस्तानका खेलाडी युनिस सहबिजले आत्मघाती गोल गरेसँगै नेपालले ३६ वर्षको गोलको खडेरी टरेको हो । तर, यो रेकर्ड भने नेपाली खेलाडीले आफ्नो नाममा लेखाउन सकेका छैनन् ।
सन् १९८२ को ‘एशियाड’को बेला गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । त्यतिबेला नेपालका लागि वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए ।
त्यसपछि एशियाली खेलकुदमा नेपालले खेलेका १७ खेलमा ६८ गोल खाएको थियो छ भने एक मात्र गोल फर्काएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया