काठमाडौं । मुलुकको अर्थतन्त्र थप दबाबमा देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धि १० महिनाको प्रतिवेदन अनुसार अर्थतन्त्रमा केही सुधार देखिएको भएपनि निर्यातको तुलनामा आयात उच्च हुदै व्यापार बढेको र रेमिटेन्स घटेसँगै विदेशी मुद्राको सञ्चितीमा पनि कमी आएका कारण अर्थतन्त्र थप दबाबमा देखिएको छ ।
प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा कुल वस्तु निर्यात ५९ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव २ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव ९ प्रतिशत र २५ दशमलव ६ प्रतिशतले बढेपनि चीनतर्फको निर्यात भने २४ दशमलव ९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैचा, पिना लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट बैंकका अनुसार पछिल्लो १० महिनामा कुल वस्तु आयात भने २८ प्रतिशतले बढेर १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव ३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव ८ प्रतिशत र ४९ दशमलव ९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढ्दा एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी निर्याततर्फ भने कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात बढेको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयात बढेको छ ।
यसरी निर्यात र आयाात दुबैको बढेको भएपनि चालू आवको पछिल्लो १० महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा भने २४ दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब ८ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया