‘गोपी’ फ्लोरमा

काठमाडौं । यतिबेला चलचित्र ‘घामपानी’ नेपाल युट्युबको ट्रेन्डिङ नम्बर १ मा छ । यो चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका थिए । उनै लामाले निर्देशन गर्ने दोस्रो फिल्म ‘गोपी’ को छायांकन शुरु भएको छ ।

केही दिनअघि मात्र ‘गोपी’ युनिटले केही कलाकारमा हेरफेर गरेको थियो । पहिले खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी र सुरक्षा पन्तलाई लिएर फिल्म निर्माण गर्ने भनिए पनि वर्षा शिवाकोटी फिल्मबाट बाहिरिएकी थिइन् । लगत्तै फिल्ममा वर्षा राउत अनुबन्ध भएकी थिइन् ।

त्यसको केही समयमै खगेन्द्र लामिछाने पनि फिल्मबाट बाहिरिएका थिए । खगेन्द्र लामिछानेको सट्टामा पनि विपिन कार्की अनुबन्ध भएका छन् ।

चलचित्रको छायांकन आइतवारबाट थालिएको हो । चलचित्रमा अंकित खड्का, भोला सापकोटा, सरोज अर्याल लगायतका कलाकारको समेत अभिनय रहेनछ । फिल्ममा वर्षा, विपिन र सुरक्षा मुख्य भूमिकामा रहनेछन् ।

मणिकरण केसीले लगानी गरेको यो फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताका रुपमा छन् । चलचित्रलाई सामीप्यराज तिमिल्सिनाले लेखेका हुन् भने दीपेन्द्र लामाले निर्देशन गर्ने भएका हुन् ।

लेखक र निर्देशक दुवै चलचित्र पत्रकार तथा समीक्षक पनि हुन् ।

यो चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहनेछ भने चलचित्र चैत १५ मा रिलिज गरिने भनिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?