एशिया कपमा छनोट हुनु हाम्रो लागि ठूलो अवसर हो : कप्तान पारस खड्का

काठमाडौं । अर्को साताबाट मलेसियामा शुरु हुने 'एसीसी' एशिया कप छनोट क्रिकेट प्रतियोगिताको तयारी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार श्रीलंका प्रस्थान गरेको छ ।

खेलाडीसहितको टोलीलाई संघीय संसदका सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमका बीच बिदाई गरेका थिए । श्रीलंका प्रस्थान गर्नेमा १४ खेलाडीसहित २० सदस्यीय टोली रहेका छन् । 

सन्दिप लामिछाने भने अहिले ‘सीपिएल’ खेलिरहेकोले उतैबाट भदौं १२ गते मलेसिया आइपुग्ने  नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । 

सभामुख महराले क्रिकेटले पछिल्लो समयमा राम्रो प्रदर्शन गर्दै उत्कृष्ट नतिजा ल्याएकोमा  खुसी व्यक्त गरे ।

‘अरु खेलको तुलनामा नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । मलाई आशा छ । नेपाली टिमले अरु प्रतियोगिताहरुमा अझै राम्रै प्रर्दशन गर्नेछ ।’ उनले भने । 

त्यस्तै, कप्तान पारस खड्काले एशिया कप आफ्नो टिमका लागि निक्कै महत्वपूर्ण रहेको बताए । ‘हामी अहिलेको लयलाई नै कायम राखेर खेल्नेछौं । भारत र पाकिस्तानजस्ता टिमसँग खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो, त्यो अवसरलाई गुम्न नदिने गरी एशिया छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेछौं ।’ उनले लोकपथलाई भने । 

साथै, उनले श्रीलंकामा हुने विशेष अभ्यास खेलमा कमी कमजोरीलाई सुधार गर्ने पनि जानकारी दिए । एशिया कपका लागि नेपाली टोलीले विगत दुई साता देखि कीर्तिपुर मैदानमा अभ्यास गरिरहेको थियो । 

‘एशियाली राष्ट्रमा अरु ठाँउको तुलनामा फरक बातावरण हुन्छ । हाम्रो टोलीले एशियाली राष्ट्रहरुसँग खेल नखेलेको लामो समय भइसक्यो । अहिले एशियाली टिमहरु पनि बलियो भएकोले त्यही अनुसार हामी रणनीति अपनाउने छौं,’ उनले थपे । 

‘चोटका कारण शरद यो पाली टिममा छैनन् । उनी टिमको सिनीयर खेलाडी हुन् । उनको अभाव टिममा अवश्य हुन्छ । तर, उनको ठाँउको कभर गर्नका लागि हामीसँग खेलाडी छ । खेलाडीलाई कहिल्यै पनि तुलना गर्न चाहि मिल्दैन्,’ उनले बताए । 

नेपालले श्रीलंकामा एक साताको अवधीमा स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । 

नेपालले अगष्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपाली टोली श्रीलंकाबाट अगष्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ । आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने ‘एसीसी’ एशिया कप छनोट क्रिकेट खेल्नेछ । 

प्रारम्भिक नेपाली टोली

कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल

 वैकल्पिक खेलाडी

प्रदीप ऐरी, किशोर महतो, सुनील धमला, सुशन भारी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?